खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारदेखि तीनधारेसम्म पुग्ने प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत शिवखोलामा बनिएको स्टिल ब्रिजको निर्माण कार्य पूरा भएको छ। उक्त स्टिल ब्रिजको उदघाटन जीटीए चिफ् अनित थापाले आगामी ९ जनवरीको दिन गर्ने भएको छ। आगामी ९ जनवरीदेखि १२ जनवरीसम्म सिविटारको बाघमारा बस्तीमा हुने चार दिवसीय कृषि बागवानी मेलाको पहिलो दिन उक्त स्टिल ब्रिजको उदघाटन गरिने भएको छ। तीनधारेदेखि सिविटारलाई जोड्ने शिवखोलामा निर्मित उक्त स्टिल ब्रिजको शिलान्यास २४ फरवरी २०२० को दिन अनित थापाले नै गरेका थिए। कोरोना महामारीको कारणले लक डाउनको भएपछि उक्त स्टिल ब्रिजको निर्माण कार्यमा पनि बाधा पुगेको थियो र अहिले स्टिल ब्रिजको निर्माण कार्य पूरा भएको छ भने जीटीए चिफ् अनित थापाले उक्त स्टील ब्रिजको उदघाटन गर्ने भएको छ।

यो स्टील ब्रिजको निर्माण नहुँदा वर्खाको समय शुरु हुनसाथ खोला बढेपछि यातायातमा धेरै वाधा सृष्टि हुने गर्दथ्यो अनि स्थानीयहरूलाई धेरै असुविधा भईरहेको थियो। तर अब यहाँ स्टिल ब्रिजको निर्माण कार्य पूरा भएपछि सिविटारको विभिन्न गाउँहरू र बाघमारा बस्तीलाई धेरै सुविधा हुने भएको छ। उक्त स्टिल ब्रिजको निर्माण कार्य लगभग ३ करोड़ ४८ लाखको लागतमा बनिएको र यस पुलको लम्बाई ३६ मीटर रहेको छ। उक्त पुलको उदघाटन कार्य विषयमा स्थानीय प्रमोद छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।