लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा एमएमएफसी निरपानीले क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार खेलिएको म्याचमा एमएमएफसी निरपानीले जीआईएस मेचीनगरलाई ३-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट निमा लेप्चाले २ अनि रितेशले १ गोल गरे। मेचीनगरको टीमबाट विशाल सुनुवारले १ गोल गरे। आजको विजेता एमएमएफसी निरपानीले १७ जनवरीको दिन खेलिने क्वार्टर फाइनलमा लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी)-को चुनौती स्वीकार्नेछ। टुर्नामेण्टको आठौं सीजनमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई आमन्त्रित गरिएको छ। दुईवटा सेमिफाइनल क्रमशः २० र २३ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।