कृषियोग्य भुमि गोरुबथान अनि फुड फेस्टिबल

a52111fe-20bb-4d96-a6ef-5ae370e29a30


लेखिका: बबिता थापा
गोरुबथान।

 कृषि योग्य भुमि गोरुबथानमा धान मकै कोदो मकै दोस्रो अन्नको रुपमा प्रमुख मानिन्थ्यो। तर बिगत केही बर्ष यता यी अन्नहरूको उत्पादनमा केही कमि भैरहेछ। कोदो नाम सुन्दा अलिक कस्तो कस्तो लाग्ला तर अत्यन्तै पोषिलो स्वास्थ्य बर्धक अन्न हो कोदो। "सिता खाने भित्ता लाग्छ ढेंडो खाने जोद्धा" बुडा पाकाको भनाइ नै छ। हुन पनि कोदोको ढेंडो जत्तिको अडिलो खाना अरु कुनै छैन। 

 अदुवाको बिषयमा भन्न पर्दा यसको बिषय पनि भन्न पर्दा बिगत बर्ष २००५ मा गोरुबथान बिडिओ अफिसबाट स्व निर्भर समुहको माध्यमबाट तत्कालिन इ.ओ.पी.श्री राजु शेर्पा सरको अगुवाइमा सिक्किमको पाकिमस्थित "अर्किड रिसर्च सेन्टर" परिभ्रमण गर्ने मौका जुरेको थियो। त्यहाँका अर्किड बिषेशज्ञ "ड० रमेश चन्द्र उपाध्य" ले भन्नु भयो "गोरुबथानको कृषिमा के प्रसिद्द छ"? भन्दा हामी त अक्क न बक्क परेका थियौं। वहाँले भन्नु भो गोरुबथानको अदुवा नाम चलेको छ। "गोरुबथाने"अदुवाको भेराइटि मैले स्कुले जिवन(बिहार) मा हुँदा नै सुनेको भनेर भन्नु भो। हामी त छक्कै पऱ्यौँ। हामी यहिँ जन्मिएर हुर्कनेलाई थाह थिएन। हुन पनि उबेला एकै घरले ८०/९० मनसम्म रोप्थ्यो। गाउँघरमा घरका प्रत्येक सदस्यले ४/५ मन आफ्नु पेवा भाग अदुवा रोपेका हुन्थे। उसबेला अदुवालाई "नगदे बालि" रुपमा लिन्थे। नगदे बालि कै रुपमा भन्नु हो भने बर्तमान अलिक लेक पट्टि अलैंची र ओल पट्टि गुवा (सुपारी)लाई पनि लिन सकिन्छ। यस बाहेक डल्ले खोर्सानी, अम्लिसो,तेजपत्ता, सुन्ताला, केरा,सिमल तरुल, पिँडालु, सकर कण्ड, मरिच र हर्दी फापर पनि उत्पादन गरिन्छ। त्यसरि विभिन्न प्रजातिका दुर्लभ फूलहरूको नर्सरीहरू पनि गोरुबथानको शेरमालि नन्दकुमार लिम्बु, मालबस्ती आहाले डम्बर राई बस्ती र मायालु बस्तीमा अगम राई छन्।

  उसरी नै धानले पनि गोरुबथानलाई गोल्डन गोरुबथान भनेर परिचय दिएको थियो भन्छन् बुडापाकाहरू। किनकि धान पाकेको समयमा खेतमा धानको बाला झुलेको साह्रै रमाइलो देखिन्थ्यो। यस सिजनमा कृषि बिभागबाट फोटो लिन गोरुबथान आउँथे रे। भन्छन् बुडा पाकाहरू। मंगसिरमा धान झाँटेर परालको दाँइ, धान नाचहरू पनि गोरुबथाने कृषकहरूले खुबै रौसे तरिकाले भोज भत्तेर खाएर ख्वाएर एक पर्व कै रुपमा मनाउँथे। खेतको आलिको डिलमा ग्यास बत्तिहरू बालेर राखिएको हुन्थ्यो। हामी पनि सानो छँदा यस्तो दाईहरूमा परालमा उफ्रिनुमा खुबै आनन्द मान्थ्यौं। औ कृषि मेलाहरूमा दार्जिलिङ्ग जिल्लाभरिमा नै धान, मकै र कोदो उत्पादन स्वाद र पौष्टिकतामा गोरुबथानले प्रथम स्थान ओगटन सफल बनेको कुरा मेरो स्व० बाबाले कथा जस्तै सललल सुनाउनु हुन्थ्यो। यसरी अन्न उत्पादन गरेर बापत मेरो बाजे स्व० गहरसिङ्ग थापाले कृषि मेलामा पुरस्कारको "कृषक सम्मान" पत्र र नगद ५ रुपियाँ पाउनु भएको कुरा बाबाले हामीलाई सुनाउनु हुन्थ्यो। बर्तमानमा राज्य सरकारले कृषकहरूलाई प्रोत्साहन हेतु "कृषि रत्न" जस्ता पुरस्कार केही नगद राशिको पनि ब्यवस्था गरिएको छ।अहिले सम्म "कृषि रत्न" सम्मान आहाले बस्तीबाट डम्बर (२०१३), निम बस्तीबाट  फर्देन लेप्चा(२०१८), शेरमालीबाट नन्दकुमार लिम्बु,सालमा राज्यको मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीको हातबाट ग्रहण गरिसकेका छन्। त्यसै गरि सोही पुरस्कार काली खोलाका सन्दिप राई (२०१९), कालेबुङ डिएम-को हातबाट ग्रहण गरिसकेका छन्। त्यसरी नै लुङ्गसेलबाट अम्ब्रुश लेप्चा र जलढाकाबाट अनुप क्षेत्रीले खण्ड स्तरीय पुरस्कार ग्रहण गरिसकेका छन्। बर्तमान पीढिका निम्ति उदाहरण हुन यी भाइहरू।

“डम्बर राई” एक उधमी युवा कृषक हुनु हुन्छ। जसले मौरी पालन, च्याउ खेती, र बेमौसममा पनि विभिन्न प्रजातिका साग सब्जिहरू लगाउनु हुन्छ। श्री राई २०१६ देखि नै ए.टि.एम.ए. (एग्रीकल्चरल टेक्नोलोजी म्यानेजमेन्ट एजेन्सी ‌फाउन्डेसन )का चेयरमेन पनि हुनुहुन्छ। बर्तमानमा त्यत्रो पढ़ेर पनि कृषि पेशा? भन्नेहरूलाई एक उदाहरण हुनुहुन्छ। डम्बर राईले कृषि सम्बन्धि प्रशिक्षण पनि दिनुहुन्छ। यो न० सम्पर्क गर्न सक्नु हुनेछ।

 कृषि कै कुरामा गोरुबथान कै "कृपा दास राई" ले मकैको घोगा तर खोसेलाले नछोप्नेलाई पछि वहाँको आफ्नु प्रयासमा छोप्ने बनाउँदा कृषि अधिकारीहरू पनि दंग परेको बाबाले घरमा सुनाउनु हुन्थ्यो। वहाँ "अथक कृषक सम्मान" उपाधिले सम्मानित ब्यक्तित्व ओै गोरुबथानको प्रगतिशिल कृषक हुनुहुन्थ्यो। 

१९८४ मा बाबाले पनि एक पटक कृषि भ्रमण जाने मौका पाउनु भो र दक्षिण बंगालको दुधको डायरी र कृषि फार्महरू हेरेको कुराहरू हामीलाई सुनाउनु हुन्थ्यो। मैले पनि यी अन्नहरूको उब्जनी नजिकबाट हेर्ने मौका पाएको छु। तर यो अन्नहरू हिजाज दिनदिनै दुर्लभ बन्दै जाँदैछ। कोदो बिषय भन्नु पर्दा केही बर्ष अघि एक दैनिकमा पढेको थिएँ कि ईङ्गल्याण्डबाट एक दम्पति कोदो बिषय “शोध” गर्न सिक्किमको गाउँ गाउँ डुलेर कोदो रोपेको बीउ राखेको, गोडेकोदेखि टिपेको कुटेको पकाएर खाएकोसम्म तथ्यहरू संकलन गरेर गएको भनेर। भनिन्छ कोदो जत्तिको धेर परिश्रम गर्नुपर्ने अन्न अन्य कुनै छैन। एक दाना चामल पोखिए टिप्न सकिन्छ तर कोदोको दाना टिप्न मुश्किल पर्छ। हाम्रो परिवारको पनि मुख्य आयश्रोत कृषि नै हुनाले धान मकै कोदो अदुवासँग म धेरै नजिक छु। समय समयमा कृषि कार्यालयबाट अधिकारीहरू आउनुहुन्थ्यो र घरमा कृषि सम्बन्धि जानकारीमुलक सभाहरू गर्नुहुन्थो। ती मध्ये “भुवन दास राई” एकजना कृषि अधिकारी हुनुहुन्थ्यो। कार्तिक, मङ्सिरमा कोदो टिपाइ हुन्थ्यो र घरभित्र नअटाउँदा बाहिर “कोठेरो” बनाएर राखिन्थ्यो। हामी केटाकेटी कोठेरोतिर लुक्ने खेल्थ्यौं। भाँडाकुटी खेल्दा कोदोलाई चामल मान्थ्यौं। किनकि कोदोको बालालाई हातले माडेर पनि हामी दाना झार्थ्यौं। कोदोको पनि धेरै भेराटीहरू छन्। ती मध्ये मुडके, झ्याम्टे सेतो कोदो, हुन्। धानको थन्काउने काम सकेर कोदोलाई भट्टिमा सरङ्ग लाएर कुटेर तयार गरिन्थो। कोदोको ब्यापारीहरूले “सरङ्गे कि भुँडे?” भनेर सोध्दथे। सरङ्गेलाई अलिक बेसी दाम भुँडेलाई अलिक कम दिइन्थ्यो। कोदो कतिसम्म स्वास्थ्य बर्धक हो भने बर्खामा सर्दी खोकी लाग्दा आमा बोज्युले कोदोको खोले तात्तातो पकाएर सुरुप सुरुप पिउनु लाउनु हुन्थ्यो। जस्तै गाडिएको पुरानो खोकी पनि मेथि फुय्राएको कोदोको खोले २ पटक खाएपछि च्वाट्टै हुन्थ्यो। अहिले जस्तो दवाइहरू खाइँन्दैन थियो। कोदोलाइ आफ्नु स्वाद अनुसार जसरी पकाएर खाँदा पनि हुन्छ।कोदोको पिठोबाट अनेक परिकार बनिन्छ। रोटी, ढेँडों,हलुवा, खोले,पुवा आदि बनाएर खान्छन्। हलुवा अति नै स्वास्थ्य बर्धक हो। यसले शरिरलाई गरम राख्छ। फागुन लागेपछि आमाले कोदो खानु हुन्न है भन्नु हुन्थ्यो। अहिले बुझ्दा गरम खाध्य रहेछ। गाँउघरमा कसैलाइ दादुरा निस्क्यो भने कोदो पिठो खोज्दै आउनु हुन्थ्यो हाम्रोमा। यसले दादुरामा मजाले दल्यो भने फोस्रिन्छ।


कृषि बाहेक गोरुबथान खण्डमा ६ वटा चिया बगानहरू सामाब्योङ्, अम्बियोक, बडा फागु, छोटाफागु, मिसनहिल, कुमाइ पनि छन्।यसबाहेक भर्खरै १२/११/२०२२ कलकत्तामा लघु उधोगमा आफ्नु निजी चिया खेतीबाट वाइट टीमा एशिया महादेशमा नै प्रथम स्थान आउने निमबस्ती तुम्लाबुङ्ग निवासि खडकाबहादुर क्षेत्री हुनुहुन्छ। गोरुबथानको माटोमा उपजनी गरिएको जैविक तथा पौष्टिक र पारम्परिक खान पनि हाम्रो गाउँले स्वाद अनुसार तयारि गरिनेछ।आगामी २०२३ जनवरी ६ र ७ मा स्थानीय सोमबारे बजार बाबरी स्कुल मैदानमा गोरुबथान टुरिजम डेभलपमेन्ट सोसाइटीको आयोजनामा २ दिने पारम्परिक खाद्य महोत्सव (फुड फेस्टिबल) को कार्यक्रम भइरहेछ। यसर्थ गाउँले स्वादको भरपुर स्वाद लिन सबैलाई स्वागत जनाउँदछु।
अन्तमा यस लेख लेखिनुमा मलाइ सहयोग पुय्राउनु हुने सम्पुर्ण महानुभाव प्रति आभार ब्यक्त गर्दछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement