गान्तोकः सिक्किमका मान्यताप्राप्त पत्रकार आईपीआर विभागका अधिकारीहरूको २० सदस्यीय टोली आज मिजोरमको राजधानी आइजोल प्रस्थान भए। यहाँको एसएनटी बस स्ट्याण्डबाट टोलीलाई मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र आईपीआर विभागकी निदेशक बेनु गुरुङले शुभकामनासहित विदा दिए। सिक्किम सरकारको मिडिया फेलोशिप स्किम अन्तर्गत पत्रकारहरूको पहिलो समूहलाई मिजोरम पठाइएको हो। पत्रकारहरूले आइजोलको इण्डियन इन्स्टीट्यूट अफ कम्यूनिकेशनमा ९ देखि १३ जनवरीसम्म अल्पकालिक मिडिया कोर्समा भाग लिने छन् । मिडिया फेलोशिप कार्यक्रम राज्य सरकारको नयाँ पहल हो, जसअन्तर्गत राज्यका पत्रकारहरूलाई प्रतिष्ठित संस्थानहरूमा प्रशिक्षण एवं क्षमता विकासका लागि पठाइन्छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले गत वर्ष यस योजनाको घोषणा गरेका थिए।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शर्माले नयाँ वर्षको राम्रो शुरूवात भएको बताउँदै पत्रकारहरूमा शुभकामना व्यक्त गरे । यसै गरी, मुख्यमन्त्रीका राजनीतिक सचिव खालिङले राज्यका पत्रकारहरूको सशक्तिकरणका लागि मुख्यमन्त्रीले यो योजनाको थालनी गरेको बताए। आईपीआर विभागकी निदेशक गुरुङले मिडिया फेलोशिप कार्यक्रमको बारेमा जानकारी दिएकी थिइन्। मुख्य पत्रकारहरूको टोलीलाई गान्तोक जिल्लाका डीआईओ दिपेन्द्र शर्मा र प्रेस क्लब अफ सिक्किमका अध्यक्ष शेखर खवासले अगुवाई गरिरहेका छन्।