मधुर मिलन संघ, मिलनमोड़को तत्त्वावधानमा आयोजित नवौं मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा गत विजेता दार्जीलिङ पुलिसले फाइनलमा स्थान बनायो। बिहीवार मिलनमोड़ खेल मैदानमा भएको पहिलो सेमिफाइनल म्याचमा दार्जीलिङ पुलिसले युनाइटेड दार्जीलिङलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्री र सीपी राई-ले गोल गरे। यसरी नै युनाइटेड दार्जीलिङबाट आशिष राईले गोल गरे। दार्जीलिङ पुलिसका कप्तान दिवस तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो।

अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा आमुक्त परिवार र दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीबीच भिड़न्त हुनेछ। फाइनल ८ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।