खरसाङ: आज राती लगभग १.३० बजेतिर खरसाङ खण्ड अन्तर्गत लंगभ्युको चिलाउने धुरा निवासी समीर थापाको दोकान साथै भान्साघर जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ। रातीको समयको आगो लागेको कारण दोकान साथै भान्सा घरको केही सामान निकाल्न नपाएको समीर थापाकी पत्नी गीता थापाले जनाएकी छन्। राती लगभग ३ बजे खरसाङबाट अग्नि शमन विभागका गाडी आएर आगोमा काबु पाउन सफल भएको बताइएको छ। आगो लागेको खबर पाउनसाथ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लंगभ्यु पंखाबारी अम्बटे समष्टि सभापति मनिराज डुम्जन, लंगभ्युको संयोजक मौसम लामा, समष्टि प्रचार प्रसार सचिव जिनोद परियारले स्थलगत भ्रमण गरी पीडित परिवारलाई सहयोग गरेका छन्। भागोप्रमो समष्टि सभापति मनिराज डुम्जनले उक्त घटनाको जानकारी जीटीए प्रमुख कार्यपाल अनित थापा साथै क्षेत्रीय सभासद कल्पना प्रधान, भागोप्रमो खरसाङ महुकमा समितिलाई पनि दिएको बताएका छन्। आगो के कारणले लागेको थियो पत्तो लागेको छैन।