माचोङ: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा राज्यको प्रत्येक समष्टिका जनताको समस्या बुझ्ने अनि ती समस्याहरू समाधान गर्ने उद्देश्यले शुरु गरिएको सरकार घर-दैलो अभियानलाई ध्यानमा राखेर आज राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नाथाङ-माचोङ समष्टिका प्रतिनिधिहरूको उपस्थितिमा पाकिम जिल्ला कार्यालयमा एक तयारी बैठक सम्पन्न भयो। बैठकको मुख्य उद्देश्य मुख्यमन्त्री तामाङद्वारा समष्टि-समष्टिमा पुगेर जनता भेट कार्यक्रम गरिरहेको विषयबारे चर्चा गर्नु रहेको थियो।
एसकेएम उपाध्यक्ष छिरिङ भोटियाको अध्यक्षतामा सम्पन्न आजको बैठकमा पाकिम जिल्लाका उपाध्यक्ष प्रभारी एवं खाद्य एवं नागरिक आपूर्ति विभागीय सल्लाहकार इञ्चुङ भोटिया, सल्लाहकार दुबो छिरिङ भोटिया, मुख्यमन्त्रीका ओएसडी भानुभक्त प्रधान, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चा, सांस्कृतिक धरोहर एवं साम्प्रदायिक सद्भाव बोर्डका अध्यक्ष सोनाम शेर्पा, जिल्ला पञ्चायत सदस्यहरू लगायत अन्यको उपस्थिति रहेको थियो।
बैठकमा विविध विषयबारे छलफलपछि नाथाङ माचोङका जनतासँग मुख्यमन्त्री प्रेमसिंह तामाङको भेटबारे स्थानबारे सुनिश्चित गरियो। यसरी नै जनतालाई व्यवस्थित ढंगमा मुख्यमन्त्रीसँग भेटहेतू तदर्थ समिति गठन गरियो। यस समितिको भूमिका अनि जिम्मेवारीबारे आजको बैठकमा व्यापक छलफल गरियो।