तुमिन लिङ्गी, खामदुङ सिताम र अप्पर तादोङ्गका जनतासित गरे संवाद
गान्तोक: विपक्षी नेता तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले एसकेएम सरकारकालमा हाल राज्यमा अनिकाल लागेको दावी गरेका छन्। आज राजधानी गान्तोकको इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा एउटा जनभेलालाई सम्बोधन गर्दै उनले यस्तो बयान दिएका हुन्। चामलिङले भने, बितेको साढे तीन वर्षदेखि सिक्कममा फेरि अनिकाल लागेको छ। जनतासित पैसा छैन, व्यापार धन्दा केही चलेको छैन। गाउँ-घरमा विकास र निर्माण कार्य ठप्प छ। पैसाको चसखेल हराएको छ। सर्वसाधारण जनताको स्वतन्त्रता खोसिएको छ अनि प्रजातन्त्र बन्दकीमा परेको छ।
आज सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष पवन चामलिङले तुमिन लिङ्गी, खामदुङ सिङ्ताम र अप्पर तादोङ्ग समष्टिका पार्टी कार्यकर्ता तथा समर्थकहरूलाई सम्बोधन गरे। आफ्नो सम्बोधनमा उनले एसकेएम सरकारकालमा विभिन्न समस्याको पहाड़ नै खड़ा भएको दावी गरे। उनले भने, सिक्किमको आर्थिक अवस्था खस्किएर गएको छ, राज्यमा बेरोजगारी बढ्दैछ अनि सरकारसित कुनै ठोस नीति र कार्यक्रम छैन। भावी पुस्ताको भविष्य अन्धकारतर्फ लम्किरहेको छ अनि जनता सत्तारूढ एसकेएम पार्टी र सरकारको अदूरदर्शी, अलोकतान्त्रिक राजनीतिले प्रताडित भएका छन्। सिक्कमको भाग्य र भविष्य खोसिएको छ। राज्यको विशेष अधिकार पुरानो कानुन सबैसबै खतरामा परेका छन्। यसैले एसडीएफ पार्टी सिक्किमलाई बचाउन अनि सिक्किमे जनतालाई यो अराजक अनि अलोकतान्त्रिक परिवेशबाट मुक्ति दिन सङ्घर्षरत छ। आज तपाईँहरू पनि यस सङ्घर्षसँग जोडिन आउनु भएको छ। हामी सबै मिलेर सिक्किमलाई मुक्ति दिन अनि सिक्किम बचाउने अभियानमा जुटौं।
आजको कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका जनताले पूर्व मुख्यमन्त्री समक्ष आफ्ना समस्याहरू राखेको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। यसको साथै उनीहरूले पार्टी अध्यक्षलाई आफ्नो क्षेत्रहरूको भ्रमणमा आउने निमन्त्रणा दिएको पनि विज्ञप्तीमा थप उल्लेख गरिएको छ।