सिलगढी: जाडो मौसममा फुलबारी महानन्द ब्यारेजमा हजारौं प्रवासी चराहरू आउँछन्। यी चरालाई शिकारीबाट जोगाउन वन विभागले विशेष व्यवस्था गरेको छ । घोषपुकुर वन विभागको तर्फबाट प्रवासी चराहरूको संरक्षणका लागि सिलगढी शहर नजिकैको फुलबारी महानन्द ब्यारेजमा बन्दुकधारी वनकर्मीहरू तैनाथ गरिएको छ। गएरातिदेखि नै वनका कर्मचारीले आप्रवासी चराको सुरक्षाका लागि निरन्तर गस्ती गरिरहेका छन् ।यससँगै सिकारीले प्लाष्टिकको पातलो धागोले बिछ्याएको जालबाट चरालाई जोगाउन वन विभागले विशेष पहल गरिरहेको छ । घोषपुकुरका रेन्ज अधिकृत सोनम भुटियाले हिउँदअघि नै यस फुलबारी ब्यारेजमा ठूलो संख्यामा चराचुरुङ्गी आउने गरेको बताए । चोरी शिकारीका कारण यो संख्या क्रमशः घट्दै गएको छ । चराहरू ब्यारेजमा नरहुन्जेल यो अभियान जारी रहने उनले बताए ।










