खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित महकुमा स्तरीय महिला लीग कम् नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो संस्करणमा खरसाङ युनाइटेड सिस्टर्स र हिल्स फूटबल एकाडमीले फाइनलमा स्थान बनायो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल म्याचमा खरसाङ युनाइटेड सिस्टर्सले आईटीआई टुंगलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल पारो मंगरले गरिन्। आईटीआई टुंगकी गोलकीपर चेजोंग भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो।
यसरी नै दोस्रो सेमिफाइनलमा हिल्स फूटबल एकाडमीले बगैचाटार युनाइटेडलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रेरणा सुब्बा र सञ्जना दर्जीले गोल गरिन्। बगैचाटार युनाइटेडकी प्रतीक्षा लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई टीबी शाही (केएफए सदस्य)-को बाहुलीबाट ट्रफी प्रदान गरियो। आजको दुईवटा म्याचमा अरविन्द छेत्री मुख्य रेफरी थिए। अब ५ जनवरीमा खेलिने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टको फाइनलमा खरसाङ युनाइटेड सिस्टर्स र हिल्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ।