युनाइटेड स्पोर्टिंग क्लब (डीपी साइड, टिस्टा भेल्ली)-को तत्त्वावधानमा आयोजित शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टको पहिलो संस्करणमा मानेभञ्ज्यांग एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। डीपी साइड मैदानमा आज भएको म्याचमा मानेभञ्ज्यांग एफसी-ले खरसाङको वाईजीएफसी-लाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याक्सवेलले २ गोल गरे। यसबाहेक सुराग छेत्री र टाक्सी भूटियाले १-१ गोल गरे। यसरी नै वाईजीएफसी-बाट प्रियांशु राणा र नवांग तामाङले गोल गरे। वाईजीएफसी-का मनदीप रिजाललाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १४ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २० र २२ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।