गान्तोक- हाम्रो सिक्किम पार्टी (एचएसपी) ले नयाँ वर्षको अवसरमा सिक्किमे जनताका लागि वास्तविक विकल्प उपलब्ध गराउने संकल्प लिएको छ। यसै गरी, एचएसपीले अन्य तीनवटा मुद्दालाई पनि उच्च प्राथमिकता दिएर काम गर्ने संकल्प लिएको छ, जुन १९७५ देखि नै थाँतीमा रहेको बताएको छ। एचएसपी अध्यक्ष भाइचुङ भोटियाले हामी दयनिय सड़क मार्ग, २४ घण्टा बिजुली आपूर्ति, कमजोर शिक्षा, बेरोजगारी, अपराध, भ्रष्टाचार आदि जस्ता विषयहरूलाई सम्बोधन गर्न विफल बनिरहेका छौं भन्दै एचएसपीले सिक्किमे जनताका लागि वास्तविक विकल्प उपलब्ध गराउने प्रेस विज्ञप्तिमा जनाएका छन्। उनले जब निर्वाचित जन प्रतिनिधिहरूले यी बुनियादी आवश्यकताहरूलाई सम्बोधित गर्न सक्दैनन् भने ठूला राजनीतिक मुद्दाहरू कसरी समाधान गर्न सक्छन् भनी प्रश्न गरेका छन्।
भोटियाले सिक्किमका विशेष रूपमा तीनवटा मुख्य मुद्दाहरू रहेको जनाएका छन्, जसलाई १९७५ देखि नै सम्बोधिन नगरिएको बताएका छन् । सिक्किमका राजनीतिज्ञहरूले केवल भोटको निम्ति राजनीति गरिरहेको र उनीहरूमा इच्छा-शक्ति नहुँदा यी मुद्दाहरू आजसम्म थाँतीमा रहेको पनि उनले आरोप लगाएका छन् । उनले सामाजिक न्याय र समानताको उल्लेख गर्दे सिक्किमे नेपाली सीट र लिम्बू-तामाङको आरक्षण मुद्दा आजसम्म धाँतीमा रहेको बताए। यसै गरी हालैमा सम्पन्न पञ्चायत चुनाउमा भोटिया लेप्चा समुदायको आरक्षणमा ठूलो घात भएको उनले जनाएका छन्। उनले २०२४ मा एचएसपी सत्तामा आएको खण्डमा समुदाय आधारित आरक्षणको स्थायी समाधान उपलब्ध गराउने संकल्प लिएका छन् । यसै गरी उनले इनर लाइन परमिट (आईएलपी) अपराध, अवैध अनुप्रवेश, जाली दस्तावेज, बेरोजगारी आदि जस्ता समस्याहरूको समाधानका लागि अत्यन्त आवश्यक रहेको बताउँदै एचएसपी आईएलपीप्रति प्रतिबद्ध रहेको र यसलाई लागू गर्ने बताएका छन्।एचएसपीले धारा ३७१ एफ लाई अक्षरस पालन अनि लागू गर्ने संकल्प पनि लिएको छ । भोटियाले चाँडै सिक्किम जागृति आन्दोलन शुरू गर्ने घोषणा पनि गरेका छन्।