नाम्ची– मुख्यमन्त्री प्रेमसिंह तामाङले आगामी जोरथाङ माघे संक्रान्ति मेला २०२३ को आयोजनलाई लिएर आज जोरथाङ सामुदायिक हलमा तयारी बैठकको अध्यक्षता गरे। बैठकमा मन्त्री एमएन शेर्पा, विधायक सुनिता गजमेर, लोकसभा सांसद इन्द्रहाङ सुब्बा तथा अन्य गणमान्य जनहरूको उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले जोरथाङ माघे संक्रान्ति मेलाको महत्व र यसको ऐतिहासिक महत्वमाथि प्रकाश पारे। यस प्रकारको मेला आफ्नो संस्कृति झल्काउने एउटा माध्यम रहेको बताउँदै मेलाहरूको आयोजनमा सिक्किमको परम्परा र संस्कृतिको लोकाचारलाई आत्मसात गरिनु पर्छ भनी बताए। उनले पारम्परिक विशेषताहरूका साथै आधुनिक, भविष्यमुखी र संस्कृतिका अग्रगामी पक्षहरूलाई पनि ध्यानमा राख्नुपर्छ भनी बताए।

मुख्यमन्त्रीले मेलाबाट लाभान्वित बन्न यस क्षेत्रका मानिसहरूलाई जागरूक गर्नुपर्ने कुरामाथि बल दिए। उनले मेलाको आयोजन सामूहिक रूपमा गरिनु पर्छ भन्दै यस अवधि ग्रामीण खेलकुदलाई महत्व दिन सुझाउ पनि राखे। यसै गरी, उनले स्थानीय उद्यमी र स्वयं सहायताहरूलाई विशेष प्राथमिकता दिन आह्वान गरे। उनले जोरथाङ छेउ कार्फेक्टारमा क्यान्सर अस्पतालको निम्ति चाँड़े शिलान्यास सम्पन्न गरिने बताए। खेल विभाग सचिव राजु बस्नेतले खेल उत्सवको बारेमा जानकारी गराए। उनले खेल उत्सव अवधि युवाहरूले आफ्नो प्रतिभा प्रदर्शित गर्न अवसर पाउने बताए। यस उत्सव अन्तर्गत आजदेखि निर्वाचन क्षेत्रस्तरीय फुटबल प्रतियोगिता शुरू भएको र आगामी दिनहरूमा म्यारथन, वकाथन र अन्य साहसिक खेलकुदहरू पनि आयोजना गरिने उनले बताए। यस अघि ग्रामीण विकास विभागका सचिव सीएस रावले एसएनटी परिसरमा सारस मेला आयोजन गरिने बताए। बैठकलाई जिल्लापाल एम. भारणी कुमारले पनि सम्बोधन गरेका थिए।