कालचिनी – दार्जीलिङ डुवर्स प्लान्टेशन लिमिटेड अधीनस्थ रहेको कालचिनी खण्डमा पर्ने मेचपाड़ा चियाबारीको सुपरिटेन्डेन्ट विपिनकुमार गुप्तालाई आज मेचपाड़ा ८ नम्बरका चिया श्रमिकहरूले एउटा विदाई समारोह मार्फत सम्वर्द्धना प्रदान गर्दै विदाई दियो। मेचपाड़ा ८ नम्बर स्थित शहीद राजीव थापा चौकमा सोमबार दिउँसो कमानको सुपरिटेन्डेन्ट विपिनकुमार गुप्ता र तिनको धर्मपत्नी एवम् कमानको प्रबन्धनपक्ष र कमानको अवकाशप्राप्त श्रमिकहरूको उपस्थितिमा सुपरिटेन्डेन्ट विपिनकुमार गुप्तालाई हर्ष र आँशु मिश्रित भावमा विदाई दिएको थियो। समारोह आयोजन पक्षका प्रेम प्रधानले बड़ा साहेब तथा सुपरिन्टेन्डेन्ट विपिनकुमार गुप्ताले मेचपाड़ा चियाबारीमा मात्र २५ बर्ष सेवा दिँदै कमानलाई ए श्रेणीमा उभ्याउन सफल भएको र तिनले दार्जीलिङ डुवर्स प्लान्टेशन लिमिटेड कम्पनीमा आफ्नो जीवनको ४६ वसन्त काटेको र आज तिनले अवकाशग्रहण गरेकोले तिनलाई सबै श्रमिक पक्ष अनि ट्रेड यूनियन पक्षबाट मान सम्मानसहित विदाई दिएको जनाएका छन्।

यता आज ८ नम्बर डिभिजनका ट्रेड यूनियन प्रतिनिधिहरू र श्रमिकहरूले आफूलाई यसरी सम्मान र सम्वर्द्धना प्रदान गरेकोमा धेरै खुसी लागेको र कमानमा २५ बर्षको सेवामा कुनै अड़चन उत्पन्न हुन नदिएको र सबैको सहयोगले कम्पनीको उत्पादन क्षमतामा पनि विकास भएर गएको र अब आफू पछि झन राम्रो व्यवस्थापक आउने कुरामा विश्वस्त रहेको र कम्पनी असल रहेकोले कसैले पनि दुश्चिन्ता नलिने आह्वान पनि विदाई बड़ा साहेब विपिनकुमार गुप्ताले गरेका छन्। यता आज सुपरिन्टेन्डेन्ट विपिनकुमार गुप्ताको विदाई समारोहमा एमजी पार्क कमिटीको सदस्यहरू अरुण सुब्बा, दिल्लाल प्रधान, पञ्चायत सदस्य सरिफ लामा लगायत कार्यक्रम आयोजना कमिटी प्रमुख प्रेम प्रधानले कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।