सिलगढी: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र सूचना तथा प्रसार विभागका प्रभारी माधव बुढाथोकी यसपालीको सदभावना सम्मेलनमा दीर्घकालदेखि मानव उत्थान सेवा समितिद्वारा संचालित सदभावना सम्मेलनहरूमा सेवा कार्य गरे बापत मानव उत्थान सेवा समिति उत्तर पूर्बाञ्चल क्षेत्रको तर्फबाट श्री सतपालजी महाराजको उपस्थितिमा उनका कनिष्ठ सुपुत्र श्री सुयशजी महाराजको बाहुलीबाट १ जनवरीको राती विशाल कार्यक्रमबिच सम्बर्धित भएका छन्। उल्लेखनीय छ, बुढाथोकी सन १९७९ देखि यो संस्थासित जोडिएर विविध प्रकारको सेवा गर्दै विगत ३५ वर्षदेखि उत्तर पूर्वाञ्चल क्षेत्रको प्रचारमा प्रिन्ट मिडियाको क्षेत्रमा सेवा गर्दै आइरहेका छन्। दैनिक समाचार पत्र हिमालचुलीको प्रकाशन कालदेखि पत्रकारितासित जोडिएका माधव बुढाथोकी यस क्षेत्रबाट प्रकाशित यसपछिका नेपाली भाषाका समाचार पत्रहरू सगरमाथा, सुनचरी, सुनाखरी, अब, आजभोलि, हिमालय दर्पण अनि हिन्दी दैनिक जनपथ समाचारमा पनि अवैतनिक रुपले कार्य गर्दै आएका हुन्।
उनका समसामयिक समीक्षा, फिचर आदिले तहलका मचाउँदै आएकोले उनको सशक्त पत्रकारितामा स्थान मिलेको हो। नेपाली साहित्यमा उनले सन् १९७२-१९७३ देखि अनवरत रुपले कलम चलाउँदै आएका हुन्। अहिलेसम्म उनका नौवटा कृतिहरू प्रकाशित भइसकेका छन्। साहित्य र पत्रकारिता अनि आकाशवाणीका वार्ताकारको रुपमा उनलाई एक आध्यात्मिक चिन्तकको रुपमा चिनिन्छन्। सन् २०२२ मा उनलाई नेपाली अकादमी र जीटीए प्रशासन र जीटीए मिरिकको पक्षबाट नेपाली भाषा आन्दोलनमा योगदान दिए बापत दुईवटा सम्मान प्रदान गरिएको थियो। यसबाहेक पनि भाषा साहित्यमा योगदानको निम्ति उनलाई धेरैवटा संघ संस्थाहरूले उनलाई अभिनन्दन र सम्मान ,पुरस्कार प्रदान गरिसकेका छन्। नेपाली कथा साहित्यमा उनलाई सिक्किमको स्रष्टा पुरस्कार र दियालो पुरस्कार प्राप्त भइसकेको छ। माउसेसले उनलाई १ जनवरीको राती यो सालको शुरुमै एउटा विशाल मञ्चबाट सम्मान गरेकोले उनका प्रशंसकहरू अत्यन्त खुशी भएर उनलाई बधाई दिइरहेछन्। उनीसित विजनबारीका जीतनारायण छेत्री र जलपाइगढीका अमरनाथ महतो पनि सम्मानित भएका छन्।