सम्बन्ध टुटेपछि शाकिरा सामाजिक सञ्जालमा पोखिन् दुःख…

00-Shakira

विश्वभरकी लोकप्रिय पप गायिका शकिराको ब्रेकअप गत वर्ष मात्रै भएको थियो। शकिरा स्पेनिस फुटबलर जेरार्ड पिकेसँग लगभग १२ वर्षदेखि प्रेम सम्बन्धमा थिइन्। दुवैजना सार्वजनिक रुपमा प्रेममा डुबेका देखिन्थे। यी दुईको अचानक ब्रेकअपले फ्यानलाई स्तब्ध बनायो, यो जोडीको बिछोडको धेरै चर्चा भयो। तर, त्यसपछि कसैलाई पनि शकीरा र जेरार्डको अलग हुनुको कारण थाहा थिएन।

फुटबल खेलाडी जेरार्डले शकिरालाई धोका दिएको हुनसक्ने अनुमान प्रशंसकहरूले गरेका थिए। तर पनि उनीहरूले आधिकारिक बयान दिएका थिएनन्। अब शाकिराले भर्खरै यस्तो पोस्ट गरेर फ्यानहरूलाई नयाँ वर्षको शुभकामना दिइन्, जसले सबैलाई उनीहरूको ब्रेकअपको वास्तविक कारण के हो भनेर संकेत दिएको छ। पोस्ट पढेपछि फ्यानले पनि शकिरालाई कडा समर्थन गरिरहेका छन्। शकिराले नयाँ वर्षको अवसरमा स्पेनिस भाषामा नोट लेखिन्। यो पोस्टबाट फ्यानहरूले उनले पाएको पीडा महसुस गरे। शकिराले लेखेकी छिन्, ‘यदि नयाँ वर्षमा पनि हाम्रा घाउहरु ताजै छन् भने समयले मात्र राम्रो सर्जन बनेर निको पार्नसक्छ। यदि कसैले हामीलाई धोका दिए पनि, हामीले अरूलाई विश्वास गर्न बिर्सनु हुँदैन। अपमानको सामना गर्दा पनि आफ्नो मूल्य पहिचान गर्न नबिर्सनुहोस्। किनकी यो संसारमा ठग र धोका दिने भन्दा धेरै राम्रा मान्छेहरु छन्। उदासीनता भन्दा धेरै सहानुभूति देखाउने मानिसहरू हामीलाई छोडेर जानेहरू भन्दा बढी सहयोगी हुन्छन्।’ शकिराले अझ लेखिन्, ‘हाम्रा आँसु अर्थहीन छैनन्। तिनीहरूले माटोलाई सिंचाई गर्छन् जसबाट हाम्रो भविष्य राम्रो हुनेछ। हाम्रो आँसुले हामीलाई मानव बनाउँछ। जसले गर्दा मुटुमा हुने हरेक पीडालाई सहेर अगाडि बढ्ने शक्ति मिलोस्।’

शकिरा र जेरार्ड सन् २०१० देखि एकअर्कालाई डेट गरिरहेका थिए। दक्षिण अफ्रिकामा भएको विश्वकपमा शकिराको एल्बम वाका वाकाको स्क्रिनिङका क्रममा यी दुईको पहिलो भेट भएको थियो। यस पछि, सन् २०१३ मा एक साक्षात्कारमा शकीराले पुष्टि गरिन्, उनी जेरार्डलाई माया गर्छिन्। यसअघि सन् २०११ मा जेरार्डले पनि सामाजिक सञ्जाल पोस्टमार्फत शकिराप्रति आफ्नो प्रेम व्यक्त गरेका थिए। शाकिरा र जेरार्डले स्टेजमा सबैको अगाडि एकअर्कालाई चुम्बन गरे। शकिराले आफ्नो पोस्ट मार्फत आफूलाई कसरी धोका दिइएको थियो भन्ने बताएकी छिन्। लामो सम्बन्धपछि पनि उनकी प्रेमी जेरार्डले उनलाई धोका दिएको आरोप छ।

About Author

Advertisement