शब्द समय सालबारीको ११३औं प्रकरण सम्पन्न

IMG-20230101-WA0581.jpg

सालबारी: शब्द समय सालबारीको ११३औं प्रकरण स्थानीय सयपत्री भवनमा सम्पन्न गरियो। प्रथममा शब्द समयका अभिभावक व्यक्तित्व वरिष्ठ साहित्यकार नरबहादुर दाहालले आफ्ना मन्तव्यहरू राखे। यस क्रममा उनले कालेबुङमा आयोजित रामकृष्ण शर्मा शतवार्षिकी समारोहमा सहभागी बन्न पुग्दाका कुराहरू बताए। उनले बताए उनी सो समारोहमा १ घण्टा २० मिनट अविराम बोलेका थिए अनि रामकृष्ण शर्मामाथि उनको सान्निध्यताका संस्मरण्हरू राखेका थिए। साहित्यकार दाहाल यसपल्ट अनुवाद साहित्य अकादमी पुरस्कारको निम्ति जुरीको रूपमा कलकत्ता जाँदा बटुलेका अनुभवहरू पनि बताए। त्यसपछि शब्द समयमा प्रथमपल्ट उपस्थित बन्न आएका सर्जकहरू क्रमैले कवि ग्रेसी राई, कवि-गीतकार-गजलगो अजय थापा अनि सर्जक निर्मल सिञ्चुरीलाई साहित्यकार दाहालको बाहुलीबाट खदा पहिर्याएर स्वागत जनाइयो। वरिष्ठ कवि-कथाकार भविलाल लामिछानेले पनि साहित्य अकादमी पुरस्कार सन्दर्भमा आफ्ना अनुभवहरू राखेपछि तीनवटा बाल कविताहरू क्रमैले उडन तस्तरी, पोखरीमा घाम अनि हाम्रो राम्रो गाउँ शीर्षकमा सुनाए। वरिष्ठ कवि मोहन ठकुरीले ‘म’-को अहङ्कारलाई सुन्दर शब्दहरूमा रचित कविता सुनाए, कविताको शीर्षक थियो ‘महरू’। प्रसिद्ध नारी लेखिका विन्द्या सुब्बाको उपस्थितिले आजको प्रकरणलाई गरिमामय तुल्याएको थियो। उनले सत्य घटनामा अधारित हृदयस्पर्शी कथा ‘कल्याणी’ शीर्षकमा सुनाइन्। वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाले पुरानो साललाई विदा दिँदै र नयाँ साललाई स्वागत जनाउँदै ‘३१ दिसम्बरको आँखा र बूढो घाम’ शीर्षकको सुन्दर कविता पठन गरेर सुनाए। नयाँ साललाई स्वागत जनाउँदै अवकाशप्राप्त कप्तान महेश कुमार सुब्बाले पनि ‘नयाँ वर्ष’ शीर्षकको कविता सुनाए। वरिष्ठ कथाकार मणिकुमार प्रधानले आफ्नो बुकुने कथा ‘कालो चश्मा’ शीर्षकमा सुनाएका थिए। कवि पवित्र राईले कविता वाचन गरिन् ‘सायद म पनि त्यही धुप्पीको रूख हुँ।’ शब्द समयमा प्रथमपल्ट सहभागी बनेकी कवि ग्रेसी राईले एक प्रेमिल कविता वाचन गरिन्। उसै गरी अ. प्रा. डीएसपी सर्जक निर्मल सिञ्चुरीले वाचन गरेका दुई कविताहरू थिए- ‘अहो’ र ‘बन्द कोठाभित्र’। वरिष्ठ कवि-गीतकार-गजलगो अजय थापाले ‘आकाश’ अनि ‘सपना’ शीर्षकमा दुई कविताहरू सुनाएपछि गजल वाचन गरेका थिए। रम्भास कविको रूपमा परिचित सर्जक लीलबहादुर सुनारले दुई मुक्तकहरूसित नयाँ साललाई स्वागत जनाउँदै कविता वाचन गरे। युग्मककार कालूसिंह रनपहेंलीले केही युग्मकहरूसित ‘शीत शैली’ शीर्षकको कविता सुनाए।

सम्पूर्ण कार्यक्रमलाई वरिष्ठ कवि खडकराज गिरीले सञ्चालन गरेका थिए। उनले शब्द समय सालबारीको तर्फबाट सबै सबैलाई नयाँ वर्षको शुभकामना पनि व्यक्त गरे। यस प्रकरणमा प्रसिद्ध फिल्म अभिनेता टंक शर्मा, पत्रकार शैलेन्द्र समदर्शी, वरिष्ठ व्यक्तित्वहरू डीएस बम्जन, बीबी योञ्जन, पूर्ण मंगर, पूर्णकुमार राई, आइएन शर्मा, शिवाकोटी दोषी, मणिकुमार तामङ आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement