खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नव ज्योति संघ चुनभट्टीको आयोजनामा भईरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट अन्तर्गत शुक्रवार भएको दुईवटा खेलमा हिरो बजार तीनधारे र लिंकन क्लब सिपाहीधुरा बिजय बनेको छ। दुवै टिमले क्वाटर फाईनल खेलमा आफ्नो आफ्नो खेल जितेर सेमिफाइनलमा प्रवेस गरेका छन्। बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको पहिलो क्वाटर फाईनल खेल हिरो बजार तीनधारे र १७ माइलमाझ सम्पन्न भएको थियो। उक्त खेलमा हिरो बजारले टस जितेर पहिला व्याटिङ गर्दै सबै विकेटहरू गुमाएर १२९ रन बनाएको थियो। १३० रनको लक्ष्यलाई खेदो गर्दै १७ माइलले निर्धारित १५ ओभरमा केवल ११३ रन मात्र बनाउन सकेको थियो र हिरो बजारले १५ रनले खेल जितेर सेमिफाइनलमा प्रवेस गर्न सफल बनेको छ। १७ माइलको पक्षबाट बिष्णु भुजेलले ४६ रन बनाएर पनि आफ्नो टिमलाई जिताउन सकेनन्। यस खेलमा १४ रन अनि २ विकेट लिने आशिष गुरुङलाई म्यान अफ् द म्याच चयन गरिएको थियो। बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको दोस्रो क्वाटर फाईनल खेल लिंकन क्लब सिपाहीधुरा र कोपरा तीनधारेमाझ सम्पन्न भएको थियो। उक्त खेलमा कोपरा तीनधारेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। त्यसैले लिंकन क्लब सिपाहीधुराले पहिला व्याटिङ गर्दै ११७ रन बनाएको थियो। लिंकन क्लबको पक्षबाट अजय राईले ३३ रन बनाएको थियो भने अभिषेक लकान्द्रीले ३ विकेट लिएका थिए। कोपरा तीनधारेले दोस्रो ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा केवल ११० रन मात्र बनाएको थियो अनि लिंकन क्लब सिपाहीधुराले खेल ७ रनले जितेर सेमिफाइनलमा प्रवेस गरेको छ। यस खेलमा अल राउण्डर प्रदर्शन गर्दै ४ विकेट र २२ रन बनाउने प्रज्वल प्रधानलाई म्यान अफ् द म्याच चयन गरिएको छ। अब अर्को क्वाटर फाईनल खेल सोमबार विकास ईलेभेन तीनधारे र नवज्योति संघ चुनभट्टीमाझ हुने भएको जानकारी आयोजक समितिको पक्षबाट रञ्जित थापाले दिएका छन्। उनले बताए अनुसार पहिलो क्वाटर फाईनल खेलमा अतिथिको रुपमा सबिन प्रधान र भुपेन प्रधान उपस्थित रहेका थिए।