
जीवनको विसृङ्खलता, चेपारो,
भिरालो र अफ्ठ्यारोपनले नै
मान्छेलाई बलियो बनाउँदो रहेछ नी…
त्यही बनिने क्रममा
आफूलाई चाहिँ
क्याक्टस झैं बनिएको आभास हुन्छl
कोमलता र शिथिलता ढाकिएको
काँढासरिको ढुङ्गै ढुङ्गाको अफ्ठ्यारोमा पनि
आफूलाई दिगो र खडा राख्न
कुनै प्रयास भने छोड्दैन…
त्यसैले त हजुर अरूले सोंचेजस्तो
कोमल र सहज कहाँ छु र…
हरेक वर्षको घोटाईले
सबल सशक्त क्याक्टस बनेकी छु…
त्यसो र त आफैलाई घोचिमाग्न
छेउमा नआउनु है…
क्याक्टस् हुँ म त…
कोमलता र शिथिलता ढाकिएको
उहीँ क्याक्टस् हुँ म,
काँढासरीको उहीँ क्याक्टस् हुँ म….