कन्चनजङ्घा उद्धार केन्द्रको १८औं स्थापना दिवस सम्पन्न

00-KUK-3

सन् २००४ देखि उत्तर बङ्गाल, सिक्किम साथै भारत-नेपाल सीमा क्षेत्रमा मानव तस्करीविरुद्ध अभियान चलाउँदै सक्रिय        

सिलगढी: सन् २००४ देखि सिलगढीबाट समग्र उत्तर बङ्गाल, सिक्किम भेकमा मानव तस्करीविरुद्ध निरन्तर अभियान चलाउँदै आएको कन्चनजङ्घा उद्धार केन्द्रले आफ्नो १८औं स्थापना दिवस हरित क्रान्तिको अवधारणालाई आधार बनाएर भव्य रुपमा पालन गर्योl ३१ दिसम्बर २०२२ मा सिलगढीको देवीडाङ्गामा सम्पन्न भएको स्थापना दिवसको कार्यक्रम रुखका विरुवामा पानी हालेर समग्र विश्वमा हरियालीका साथ् स्वच्छ वातावरणको मङ्गलकामना गर्दै शुरु गरियोl

सिलगढी महकुमा परिषद्का सभाधिपति अरुण घोषको मुख्य आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा मानव तस्करीविरुद्धको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पुलिसकर्मीहरू र सामाजिक कार्यकर्ताहरू, कन्चनजङ्घा उद्धार केन्द्रका सदस्यहरू र उद्यमी महिलाहरूलाई सम्बर्द्धना जनाइयोl यस सम्बर्द्धनाको क्रममा विशेष रुपमा दार्जीलिङ जिल्लाका पब्लिक प्रोसिक्यूटर प्रणय राई र खरसाङ सेसन अदालतका पब्लिक प्रोसिक्यूटर रमेश अग्रवाललाई सम्बर्द्धना जनाइयो छl उल्लेखनीय छ, दार्जीलिङ जिल्लाका पब्लिक प्रोसिक्यूटर प्रणय राई दार्जीलिङका पूर्व विधायक हुन्, उनको सक्रियतामा करिब १२९ जना बाल शोषण-उत्पीडन, महिलाविरुद्ध हिंसाका दोषीहरूलाई अदालतबाट कारावासको सजाय भएको छ अनि यसबाहेक दुईजनालाई फाँसीको सजाय सुनाएको छl खरसाङ सेसन अदालतका पब्लिक प्रोसिक्यूटर रमेश अग्रवाल एकजना सामाजिक कार्यकर्ता पनि हुन्, उनको सक्रियतामा एक दर्जन भन्दा बढी उस्तै दोषीहरूलाई अदालतले कारावासको सजाय सुनाएको छl उनी दुवैको यस्तो सक्रियताका कारणले सर्वसाधारणमा कानूनमाथि आस्था र विश्वास साझा दह्रिलो बनेको छl    

कन्चनजङ्घा उद्धार केन्द्रकी संस्थापक रङ्गु सौरियाले आफ्नो वक्तव्यको क्रममा संस्थाको स्थापना साथै मानव तस्करीविरुद्धको अभियानमा सामना गर्नुपरेको संघर्षहरू बारेमा बताइन्l रङ्गु सौरियाले आफू स्वयं रेड लाइट एरियामा गएर सयौं चेलीहरूलाई उद्धार गरेर समाजको मूल स्रोतमा ल्याउने कार्य गरेकी छिन्l उनकै सक्रियतामा कन्चनजङ्घा उद्धार केन्द्रले सन् २००४ देखि आजसम्ममा आठ हजार भन्दा बढी छोरीचेलीहरूलाई उद्धार गर्न सफल भएको छl कतिलाई रेड लाइट एरियाबाट, कतिलाई बाटैदेखि मानव तस्करहरूको जालबाट, कतिलाई शोषण-अन्याय र यौन उत्पीडनबाट, कतिलाई घरेलु हिंसाबाट उद्धार गरिएको छl मानव तस्करहरूको जालमा फसेका धेरै नेपालका छोरीचेलीहरूलाई पनि उद्धार गरेर घरफिर्ता गर्न सफल भएको छl उल्लेखनीय छ, रङ्गु सौरिया पश्चिम बङ्गाल राज्य सरकारबाट बङ्गरत्न पुरस्कारले सम्मानित भइसकेकी हुन् भने ‘हन्ड्रेड पावरफु वुमेन अफ् इण्डिया’ घोषित भएकी हुन्l       

कन्चनजङ्घा उद्धार केन्द्रका संस्थापक सदस्य शरद गुरुङद्वारा शुरुवाती घोषणा गरिएको थियो भने बुद्ध लामा र सन्तोष छेत्रीले कार्यक्रम संचालन गरेका थिएl स्थापना दिवसको कार्यक्रममा कन्चनजङ्घा उद्धार केन्द्रका युथ ग्रुपकी सदस्य ऋतु थापाले मानव तस्करीविरुद्ध जनचेतनामूलक वक्तव्य प्रस्तुत गरिन्l कार्यक्रममा दिया सुनारले नेपाली गीत गएपछि नक्सलबारी हिन्दी हाई स्कूलद्वारा एसिड हमलाबारे अनि कन्चनजङ्घा उद्धार केन्द्रको पानीघट्टा युथ ग्रुपद्वारा मानव तस्करीविरुद्ध गीति नाटक प्रस्तुत गरियोl कार्यक्रममा कन्चनजङ्घा उद्धार केन्द्रका संस्थापक प्रभात पाठकले धन्यवादको क्रममा संस्थाको बारेमा विशेष जानकारी दिएl १८ वर्षको अवधिमा कन्चनजङ्घा उद्धार केन्द्र केवल संस्था मात्र रहेको छैन, मानव तस्करी, माहिला अनि बाल शोषण र उत्पीडन, सामाजिक असमानता, विसङ्गतिहहरू एउटा अभियान बनेर निरन्तर अघि बढिरहेको छl पीडितहरूलाई पुन: नयाँ उर्जा दिन साथै आत्मनिर्भर बनाउने उदेश्यले संस्थाले विशाल होम निर्माण गरिसकेको छl l भारत सरकारको महिला अनि बाल विकास मन्त्रालयको परियोजना चाइल्डलाइन कन्चनजङ्घा उद्धार केन्द्रले खरसाङमा अनि पश्चिम बङ्गाल राज्य सरकारको परियोजना स्कीम फर एडोल्सेन्ट गर्ल्स (एसएजी- कन्याश्री) परियोजना खरसाङ, सुकेपोखरी, मिरिक अनि फाँसीदेवामा संचालन गरिरहेको छl कार्यक्रममा विशिष्ट अतिथिहरूमा भारत सरकारका आयकर विभागका आयुक्त (पश्चिम बङ्गाल) मिलन रुचाल, दार्जीलिङ जिल्लका आरटीओ सोनाम छिरिङ, आयकर विभागका उप-आयुक्त पीटी योल्मो, डा. सीपी शर्मा, बाल कल्याण समिति, दार्जीलिङ र सिलगढीका अध्यक्षद्वय तृष्णा थापा र बसन्ती ब्यानर्जी, पुलिसअधिकारीहरू, सामाजिक कार्यकर्ताहरू विशिष्ट अतिथिका रुपमा साथै दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्र, एसएजी (कन्याश्री)का टोलीको उपस्थित रहेको थियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement