नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको म्याचमा फेथ फाइटर्स फुवागढ़ीले लोहागढ़ एफसी-लाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। अब ७ जनवरीको दिन खेलिने पहिलो सेमिफाइनलमा कञ्चनजंघा एफसी जूनियर र झापा (नेपाल)-बीच भिड़न्त हुनेछ। यसरी नै फेथ फाइटर्स फुवागढ़ी र धुसेनी एफसी-बीच दोस्रो सेमिफाइनल ८ जनवरीमा खेलिनेछ। फाइनल १५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।