बागवानी विभागको एमओडी सभासद प्रणाम रसाईलीद्वारा तकलिङ पेशोक समष्टीको कृषकहरू गरे सभा

खरसाङ: जीटीए बागवानी विभागको भारप्राप्त एमओडी सभासद प्रणाम रसाईली अनि तकलिङ पेशोक समष्टि सभासद मणिप्रसाद राईको तत्वावधानमा कृषि, मौरी पालन, फूल खेती,गाई पालन इत्यादि विषयमा तकलिङ पेशोक समष्टि अन्तर्गत बड़ा मंगवाको सार्वजनिक भवनमा एक पहिलो भ्रमण साथै एक सभा सम्पन्न भयो। यस सभाको सञ्चालन तकलिङ पेशोक समष्टीको सांगठनिक सचिव
सुरज छेत्रीले गरेका थिए। ‘मेरो गाउँ – मेरो गर्व’ को नारालाई आत्मासाथ गर्दै जीटीए मुख्य कार्यपाल अनित थापाको सकारात्मक सोचलाई अघि लाउँदै यसरी गाउँ बस्तीमा पुगेर पौरखी हातहरुलाई स्वनिर्भर बनाउने प्रयास गरिरहेको कुरा विभागीय एमओडी सभासद प्रणाम रसाईलीले आफ्नो सम्बोधनमा बताए। पोली हाउस, गाई पालन, ब्युटिसियन, खेती पाती, मौरी पालन, सुन्तला खेती, फूल खेती इत्यादि विषयमा सभासद प्रणाम रसाईलीले सहज अनि प्रष्ट रूपमा उपस्थित समुदायलाई जानकारी गराएका थिए। जीटीए अन्तर्गत कृषकहरूले सरकारी सहुलियतहरू प्राप्त गर्न सके किसानहरूको आर्थिक विकास हुने सम्भावना प्रबल रहेको कारण मुख्य कार्यपाल अनित थापाले यो कार्यको थालनी गर्ने अनुमति दिएको हो र स्थानीय वासिन्दा प्रेम छिरिङ लेप्चाले एग्रीकल्चरसंग सम्बन्धित महत्वपूर्ण जानकारी गराए। उनले यस भेगमा खेती किसान गर्ने कृषकहरुको संख्या धेरै भ‌एको कारणले गर्दा सम्बन्धित विभागबाट वितरण गरिने बर बिजन, बिरूवा, यूरिया मल इत्यादि नपुग्ने गुनासो पोखे। जगली जनावरहरू गाउँ घरमा पसेर घरमा पालेको गाई, बाख्रा, कुखुराहरू खाईदिने साथै बनेल र मजुरहरुले डल्ले खोर्सानी सिमिहरु खाई दिने अनि यस्तो हुँदा कृषकहरूले धेरै नोक्सान ब्योहोर्नु परेको बताए। गाई पालन विषयमा स्थानीय वासिन्दा मनोज पाखरीनले आफ्नो वक्तव्य राखेका थिए। मौरी पालन विषयमा डीबी छेत्रीले वक्तव्य राखेका थिए। यस कार्यक्रममा खरसाङ टाउन कमिटी उपसभापति पुष्प प्रधान, सह सचिव बिरबल पाखरीन, खरसाङ गिध्द पहाड़ समष्टि जोनल सभापति रुपेन छेत्री, महकुमा समिती सह सचिव पवन बस्नेत पनि सहभागी रहेका थिए। तकलिङ पेशोक समष्टिको मूल सचिव रमेश गुरूङ, नारी शक्ति सभापति राधिका तामङ अनि पार्टीको सदस्यहरू उपस्थित थिए। स्वनिर्भर समूहबाट चांदनी योन्जनले पनि आफ्नो सम्बोधन राख्दै यो सभा अत्ति नै फलदायक भ‌एको बताउँदै आउँदो दिनमा अझ यस प्रकारको कार्यक्रम पूरा समय निकालेर वृहत रुपमा गर्न सके कृषकहरुलाई फायदा हुने बताए।

नारी शक्ति सभापति राधिका तामङले पनि च्याउ खेती विषयमा जानकारी गराए। अन्त्यमा क्षेत्रीय सभासद साथै समष्टि सभापति मणिकुमार राईले समष्टिका विभिन्न विषयहरूमा वक्तव्य राखेका थिए। उनले तकलिङ पेशोक समष्टि खेती जन्य समष्टि रहेको कारण यहाँको कृषकहरूको उत्थान हुन जरुरी रहेको बताए। कृषकहरूले एकै प्रकारको खेती नगरेर विभिन्न प्रकारको खेती पाती गरे कृषकहरुको आर्थिक अवस्था सुध्रने कुरा बताए। तर उत्पादन मात्र नगरेर बजार व्यवस्थापनको व्यवस्था पनि हुनु जरूरी रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement