खरसाङ: खरसाङ चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पाले खरसाङ महकुमा अस्पतालको भ्रमण गरेर अस्पतालमा रहेका विभिन्न समस्या अनि कमी कमजोरीहरूको जानकारी दिएका छन्। उनले अस्पतालको यूएसजी विभाग, शौचालय, नर्सिङ क्वाटर, डाक्टर क्वाटर, मेल वार्ड, एक्स रे कोठाको भ्रमण गरेर त्यहाँ रहेका समस्या अनि कमी कमजोरीको जानकारी प्राप्त गरे। भ्रमणको अवधिमा अस्पतालकी एसडीएमओ डाक्टर रूमी मण्डलसित कुराकानी गर्दै सस्पतालमा निकै समय अघि निर्माण कार्य पुरा भइसकेको शौचालय अझसम्म प्रयोगमा नल्याएको बारेमा जानकारी लिए। यस बारेमा डाक्टर रूमी मण्डलले निर्माण कार्य पुरा भइसकेको शौचालयको स्वेरेज प्रणाली अहिलेसम्म मुख्य स्वेरेज प्रणालीमा जडान गर्न नसकिएकोले शौचालय प्रयोगमा ल्याउन नसकिएको जानकारी गराइन्। अस्पतालमा डिजिटल एक्स रहेको सबै आवश्यक सामग्री आइसकेको भए तापनि अहिलेसम्म एक्स रे शुरू नगरिएको बारेमा पनि चर्चा गरे। यस बारेमा डाक्टर रूमी मण्डलले एक्स रे कोठाको लागि प्रकाशकोधी दैलो नआएकोले एक्स रे सञ्चालनमा ल्याउन नसकिएको बताइन। श्याम शेर्पाले खरसाङ महकुमा अस्पतालमा जीटीएले एउटा डाययोलेसिस मशिन जडान गर्ने विचार गरिरहेको पनि अवगत गराए। स्वस्थ्य विभागको एमओडी सभासद श्याम शेर्पाले अस्पतालमा डायलासिस मशिन बनाउनको लागि जग्गाको व्यवस्था गर्ने एसडीएमओसित अनुरोध गरे। भ्रमणको अवधिमा शेर्पाले अस्पतालमा रहेको विभिन्न वार्डहरूको शौचालयहरू व्यवस्थित र सफा राख्ने सुझाव दिए। तिनले अस्पतालमा रहेका डाक्टरहरूको कमीको बारेमा पनि जानकारी दिए अनि डाक्टरको अभावमा जनसाधरणले समस्या भोग्न परिरहेको बारेमा जानकारी गराउदै अस्पतालमा डाक्टर पर्याप्त रहनु पर्ने बताए। डाक्टर रूमी मण्डलले वर्तमानमा अस्पतालमा जम्मा 35 डाक्टर रहेको सभासद शेर्पालाई जानकारी गराए। सभासद शेर्पाले खरसाङ महकुमा अस्पतालमा खरसाङ महकुमा लगायत वरिपरि क्षेत्रका मानिसहरू उपचारको लागि भर पर्ने भएकोले रोगीहरूलाई आधुनिक चिकित्सा सेवा उपलब्ध गराउन सबैले मिलेर काम गर्नु पर्ने आवश्यकता रहेको बताए। आफ्नो भ्रमणको बारेमा बताउदै सभासद श्याम शेर्पाले भने, आज मैले खरसाङ महकुमा अस्पतालको भ्रमण गरेको छु। भ्रमणको अवधिमा मैले अस्पतालमा रहेका विभिन्न समस्या र कमी कमजोरीहरूको बारेमा जानकारी दिएको छु। यी सबै रिपोर्ट म जीटीए प्रमुख कार्यपाल अनित थापालाई अनि जीटीए स्वास्थ्य विभागलाई बुझाउने छु। खरसाङ महकुमा अस्पताल खरसाङ महकुमा लगायत वरिपरि क्षेत्रका मानिसहरूलाई चिकित्सा सेवा उपलब्ध गराउने अस्पताल हो। यहाँ असल चिकित्सा सेवा उपलब्ध हुन पर्ने हाम्रो उद्देश्य छ। यसको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापाले काम गरिरहेका छन्। अस्पतालमा डिजिटल एक्स रे मेशिन आइसकेको छ। यहाँ एउटा डायलासिस मशिन जडान गर्नको लागि हामीले काम गरिरहेका छौँ। अस्पतालमा डाक्टरको कमी नरहोस् भनेर हामीले काम गरिरहेका छौँ। अस्पतालका डाक्टर, नर्स अनि अन्य कर्मचारीहरूलाई पनि कुनै प्रकारको असुविधा नहोस् भन्ने दिशामा पनि काम गरिरहेका छौँ। आजको भ्रमणमा मैले जति कमी कमजोरी र समस्या पाएँ यसको जानकारी म जीटीए प्रमुख कार्यपाल अनित थापालाई अनि जीटीए स्वास्थ्य विभागलाई बुझाउने छु। आगामी दिनमा यी समस्याहरूको समाधान गरेर एउटा व्यवस्थित र सुविधा सम्पन्न अस्पताल बनाउन हामी काम गर्ने छौँ। स्वस्थ्य विभागको एमओडी सभासद श्याम शेर्पाको भ्रमण अवधि खरसाङ ईञ्जिनियरिङ विभागका कार्यकारी अभियन्ता रिवाज बसेल, खरसाङ नगरपालिकाको एसआई गोबिन्द अधिकारी लगायत भागोप्रमो 28 नम्बर समष्टि प्रतिनिधिहरू सञ्जय मुखिया, दिपेन गुरूङ, आदर्श गुरूङ, दिपम थामी, खरसाङ महकुमा समितिका प्रणय रोका अनि अन्यान्य उपस्थित थिए।










