खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित महकुमा स्तरीय महिला लीग कम् नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो संस्करणमा शुक्रवार दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको पहिलो म्याचमा आईटीआई टुंगले जंगापाना युनाइटेडलाई ५-४-ले पराजित गऱ्यो। विजेता टीमबाट मिंगमा लमू भूटिया एक्लैले ४ गोल गरिन्। युनाइटेड जंगापानाबाट मारिया श्रेष्ठ र अंशु राईले २-२ गोल गरिन्। दोस्रो म्याचमा खरसाङ युनाइटेड सिस्टर्सले मकैबारी युनाइटेडलाई ७-०-ले पराजित गऱ्यो। विजेता टीमबाट पारो अन्वेशाले ५ गोल गरिन्।

आजको दुईवटा म्याचमा बिरेन्द्र राई र अमिर शंकर मुख्य रेफरी थिए। यसबाहेक भानु पी राई र बिशाल राई सहयोगीको भूमिकामा रहेका थिए। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा सातवटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३ जनवरीमा हुनेछ। यसरी नै फाइनल ५ जनवरीमा खेलिनेछ।









