नाम्ची: नाम्बीको स्थानीय एक होटलमा आज भाजपा सिक्किम राज्यको राज्यस्तरी समन्वय सभा सम्पन्न भयो। सभाको अध्यक्षता पार्टीका केन्द्रिय कार्यकारीणी समितिका सदस्य याप छिरिङ भोटियाले गरेका थिए। सभा आयोजना गर्नुको मुख्य उद्देश्य भाजपा सिक्किम राज्यका लागि चयनित भएर आउने अध्यक्षको समर्थन गर्नु र पार्टीको गतिविधिलाई बढाएर लैजान चर्चा गर्नु रहेको थियो। सभामा सम्बोधन गर्दै भाजपा सिक्किम राज्यका उपाध्यक्ष अर्जुन राईले सिक्किममा भाजपा सरकार आउने पूर्ण सम्भावना रहेको दाबी गरे। भाजपाते सरकार गठन गरे मात्र सिक्किम उठ्न सक्ने बताउँदै उनले नयाँ अध्यक्ष आएपछि पार्टीका विभिन्न स्तरका समितिहरूमा फेरबदल हुने जानकारी गराए।
भाजपाले सरकार गठन गरे, सिक्किमको ३७१ एफ उड्छ भन्ने कुरा भ्रम रहेको उनले स्पष्ट पारे। पार्टी कार्यकर्ताहरूलाई विभिन्न सुझाउहरू दिँदै उनले हतास नहुन पनि अनुरोध गरे। पार्टी प्रवक्ता नवीन भटराईले एसकेएमसँगको गठबन्धन भाजपाको लागि अड्चन भएको हुँदा गठबन्धन तोड्नु पर्ने कुरामा जोर दिए। भाजपालाई सिक्किमकै जस्तो पार्टी बनाए मात्र अघि बढ्न सहज हुने विचार प्रकट गर्दै जनताको घरदैलोसम्म पुग्न जरुरी रहेको बताए।
सभामा महासचिव भरत दुलाल, कोषाध्यक्ष कैलास अग्रवाल, विभिन्न जिल्लाका अध्यक्षगण मण्डल प्रमुखहरू आदिले पनि आआफ्ना विचारहरू राखेका थिए।








