कालचिनी – अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको ३०औँ बार्षिक सम्मेलन तथा सोजोङ ञ्युङ्ने उपषोधको थालनी कालचिनी खण्डको भारत भोटाङ सीमान्त सेन्ट्रल डुवर्स चियाबारीको हाटखोला फूटबल मैदानमा बिहीबार अपरान्ह समयदेखि सम्पन्न भयो। अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको केन्द्रिय अध्यक्ष तथा महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडोको पवित्र आगमनसितै कार्यक्रम पण्डाल अघि राष्ट्रिय झण्डा, संघको झण्डा र पञ्चशील झण्डाको उत्तोलनपछि पण्डालको रिबन काटेर गरीएको थियो।

राष्ट्रिय झण्डाको उत्तोलन प्रमुख अतिथि विधायक विशाल लामाको बाहुलीबाट, संघको झण्डा महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडोको करकमलबाट र पञ्चशीलको झण्डा संघको महासचिव आचार्य सांग्ये छ्योफेलको करकमलबाट गरिएको थियो।
दार्जीलिङ, सिक्किम, असम पूर्वोत्तर राज्य एवम् डुवर्सको विभिन्न ठाउँहरूबाट बौद्ध श्रद्धालु तथा उपासक उपासिकाहरू प्रायः ५०० भन्दा अधिकको संख्यामा आज प्रथम दिनको ञ्युङ्ने उपषोधको निम्ति आगमन भइसकेको र अझै आगामी दुई दिनभित्र श्रद्धालुहरू आइपुग्ने आयोजक कमिटीको पक्षबाट सभापति प्रेम योञ्जन र सचिव सुमित लामाले जनाएका छन्

। प्रथम दिनको कार्यक्रमको तयारी औ संघको अपिलबारे पत्रकार सम्मेलन मार्फत ३०औँ बार्षिक सम्मेलन तथा सोजोङ ञ्युङ्ने उपषोधको निम्ति आउने उपासक उपासिकाहरू एवम् श्रद्धालुहरू सबैको लागि भोजन व्यवस्थापन शौचालयको सुविधा उपलब्ध गराईएको र मूलतः मानव कल्याणको निम्ति आयोजित यो ञ्युङ्ने उपषोधले सबैको मंगल होस भन्ने कामना रहेको बताउँदै आयोजक कमिटीको पक्षबाट सचिव सुमित लामाले यस महत कार्यको निम्ति केवल बौद्ध धर्मावलम्बीहरूले मात्र नभएर अन्य धर्मका सदस्यहरूले पनि सहयोग पुऱ्याएकोमा धन्यवाद ज्ञापन गरेका छन्।









