खरसाङ: खरसाङ गिध्द पहाड़ समष्टि अन्तर्गत लोवर सिरुबारीको शान्ति नगरमा जीटीएको बागवानी विभागको भारप्राप्त मनोनित सभासद प्रणाम रसाईलीको अगुवाईमा कृषि जन्य क्षेत्र अनि गाई पालन कृषकहरुको घर जमीनको स्थलगत भ्रमण गरिएको छ। उक्त स्थलगत निरीक्षणमा समष्टि सभापति पेमेन्द्र गुरूङ, नारी शक्ति केन्द्रीय सभापति अनु प्रधान, जोनल सभापतिरुपेन छेत्री, जोनल नारी शक्ति सभापति ज्योती छेत्री, खरसाङ टाउन कमिटी उप सभापति पुष्पन प्रधान अनि सह सचिव बिरबल पाखरीन पनि यस टोलीमा उपस्थिति थिए। जीटीए मुख्य कार्यपाल अनित थापाको सहयोगमा सिरुबारीको उक्त क्षेत्रमा रहेको ग्रामीण इलाकाको निमुखा कृषकहरुले पनि कृषि अनि गाई पालन क्षेत्रमा सरकारी सहुलियतहरु प्राप्त होस् भन्ने उद्देश्यले आजको यस कार्यक्रम रहेको सभासद प्रणाम रसाईलीले बताएका छन्। जीटीए मुख्य कार्यपाल अनित थापाले यसरी अभेग क्षेत्रमा रहेको कृषकहरूको उन्नति अनि प्रगतिको निम्ति यसरी गाउँ घरमा सरकारी सहुलियतको निम्ति पहल गरिदिएकोमा जोनल सभापति रुपेन छेत्री अनि नारी शक्ति जोनल सभापति ज्योति छेत्रीले सम्पूर्ण गाउँवासीको पक्षबाट धन्यवाद ज्ञापन गरेका छन्। यस क्षेत्रका वासीहरूले घरेलु पशुहरू कुखुरा, बाख्रा, घर मौरी पालन,फूल खेती इत्यादिको पनि ब्यापक रुपमा पालन गरिरहेका छन्। तर यस क्षेत्रका कृषकहरूले आजसम्म कुनै पनि सरकारी सहुलियतहरु प्राप्त गर्न नसकेको विभागीय एमओडी सभासद प्रणाम रसाइली समक्ष राखेका छन्।

समष्टि सभापति पेमेन्द्र गुरूङले आउँदो दिनमा यस क्षेत्रको विकास अनि सिपमूलक कार्यको निम्ति काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। मेरो गाउँ मेरो गर्वको नारालाई अघि लिएर थालनी गरेको यस कार्यक्रममा केन्द्रीय समिति नारी शक्ति सभापति अनु प्रधानले पनि उपस्थित जन समुदायलाई स्वलम्बी अनि पौरखी हातहरुलाई स्वनिर्भर भएर अघि बढ़ने हौसला प्रदान गरिन्। उपस्थित समुदायले पनि जोश अनि खुशीको साथ यस क्षेत्र साथै निजी विकासको निम्ति काम गर्ने निर्णय लिएका छन्।









