सिलगढी: हावडादेखि नयाँ जलपाईगुडी स्टेशनसम्म चल्ने वन्दे भारत एक्सप्रेस ट्रेन भोलि उद्घाटन हुने छ। उद्घाटन समारोहमा सहभागी हुन दार्जिलिङका सांसद राजु विष्ट सिलगढी आएका छन्। उनी बिहीबार दिउँसो बागडोग्रा एयरपोर्ट पुगे। त्यहाँ पत्रकारहरुलाई सम्बोधन गर्दै उनले भोलि ऐतिहासिक दिन हुने बताए। बन्दे भारत एक्सप्रेस रेलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन्, जसले भारत विकासको दिशामा कति अगाडि बढिरहेको छ भन्ने प्रमाण गर्छ। १५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने यो ट्रेनबाट दक्षिण बङ्गाल र उत्तर बङ्गालका जनताले धेरै सुविधा पाउनेछन्। यसरी केन्द्र सरकारले विभिन्न क्षेत्रमा विकास गरिरहेको पनि उनले बताए। उत्तर बंगालको विकासमा उनको विशेष जोड छ। यो रेलले उत्तरी क्षेत्रमा पर्यटन उद्योगको विकास र प्रवद्र्धनमा ठूलो योगदान पुग्ने उनले बताए।









