एसकेएम पार्टीद्वारा चामलिङको वयानको कडारूपमा खण्डन

गान्तोक: एसडीएफ पार्टीका विधायक पार्टी अध्यक्ष पवन चामलिङले प्रेस विज्ञप्ति जारी गरी आफ्नो भड्डास पोख्ने क्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङप्रति जुन आरोप लगाएका छन्‌ त्यसको सिक्किम क्रान्तिकारी मोर्चा कडारूपमा खण्डन गरेको छ। वास्तवमा सिक्किमेली जनताले चामलिङमाथि भरोसा र विश्वास राख्न छोडेपछि मानसिक असन्तुलित बनेर चामलिङले बेबुनियाद बयान जारी गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

चामलिङले मुख्यमन्त्री तामाङको बोडोल्याण्डको भ्रमण गरी त्यहाँबाट हात हतिपार ल्याएको आरोप लगाएका छन्‌ जो पूर्ण रूपमा गैरजिम्मेवार बयान रहेको बताएको छ।

चामलिङले यस्तो भ्रामक बयान दिएर सिक्किमेली जनतालाई डर देखाउने अधिकार नरहेको जानकारी गराएको छ। वास्तवमा भन्नु हो भने सिक्किममा बाहिरबाट गुण्डा ल्याएर आतंक मच्चाउने पवन चामलिङ स्वयं रहेको ठहर गरेको छ। यसको प्रमाण सिक्किमका तमाम जनताले देखिसकेका छन्‌। दुइ तीनपल्ट सिक्किम पुलिसले यस्ता राज्य बाहिरका गुण्डाहरूको भण्डाफोर गरिसकेको जो एसडीएफ पार्टीसँग संलग्न रहेको प्रमाण फेला पारेको थियो। चामलिङ मुख्यमन्त्री पदबाट झरेर विधायक मात्रै रहेपछि जनताको हितमा विधानसभा पस्न नसक्ने व्यक्ति रहेको पार्टीको आरोप छ।

विधानसभाको कार्बाहीमा उपस्थित नहुने, जनताको निम्ति कार्ययोजना बनाउँदा उपस्थित नहुने तर अहिले झूट र फरेबी कुरा लिएर जनतालाई अल्मल्याउने चामिलङलाई नैतिक अधिकार नरहेको उल्लेख गरेको छ। सिक्किमेली जनताले पवन चामलिङलाई प्रश्न गर्न सक्नुपर्छ कि विधायक बनेर सिक्किमेली जनताको निम्ति कतिपल्ट विधानसभा पस्यौ?

यतिमात्र होइन सिक्किम विधानसभा जस्तो राज्यकै उच्चस्थानमा आतंक मच्चाउने प्रयास गरिरहेका एसडीएफका युवाहरू पक्राउ परेको घटनाले स्वतः प्रमाणित गर्छ कि बाहिरबाट हतियारधारी गुण्डाहरू ल्याएर पाल्ने चामलिङ आफैं हुन्‌। अहिले दुधको साक्षी बिरालो भनेजस्तो गरी नानाथरीको हुँदै नभएको भ्रामक दुष्प्रचार गरी जनतालाई डराउने र धम्क्याउने काममा चामलिङ लिप्त रहेको पार्टीले किटान गरेको छ। पवन चामलिङ आफ्नो पार्टीको कार्यक्रम र योजना लिएर जनतामा जानुको सट्टा एसकेएम पार्टीका कार्यकर्ताको नाम लिएर जनतामा गएको पार्टीले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement