खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित महकुमा स्तरीय महिला लीग कम् नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो संस्करणमा आज दुईवटा म्याच रहेको थियो। स्थानीय मण्टिभियट खेल मैदानमा बुधवार पहिलो म्याचमा मकैबारी युनाइटेडको टीम नआउँदा जेआर ३२-ले वक्ओभर पाएर जीत हासिल गऱ्यो। दोस्रो म्याचमा बगैचाटार युनाइटेडले जंगापाना युनाइटेडलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सुब्रत राईले २ गोल गरिन्। यसबाहेक अनिशा लिम्बु र नित्य तामाङले १-१ गोल गरिन्। आजको म्याचमा भानु पी राई मुख्य रेफरी थिए। यसबाहेक बिरेन्द्र चाम्लिंग र विशाल राई सहयोगीको भूमिकामा रहेका थिए। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा सातवटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३ जनवरीमा हुनेछ। यसरी नै फाइनल ५ जनवरीमा खेलिनेछ।