गान्तोक। बाँसुरी वादक प्रीतम छेत्री र तबला वादक ललित कश्यपले संयुक्त रुपमा सिक्किम गट ट्यालेन्ट सिजन एकको खिताब हत्याउन सफल भएका छन्। दक्षिण सिक्किम नाम्ची जिल्लाको नाम्ची सिनेमा हल इम्पेरियल टकिजमा आयोजित सिक्किम गट ट्यालेन्ट सिजन एकको फाइनलमा बाँसुरी वादक प्रीतम छेत्री र तबला वादक ललित कश्यपलाई संयुक्त रुपमा सिक्किम गट ट्यालेन्ट सिजन एकको खिताब प्रदान गरियो। मुख्यअतिथि नाम्ची जिल्ला पञ्चायत अध्यक्ष सुश्री अञ्जिता राजालिमको बाहुलीबाट विजयीद्व्य बाँसुरी वादक प्रीतम छेत्री र तबला वादक ललित कश्यपलाई संयुक्त रुपमा नगद रुपियाँ दुई लाख र ट्रफी प्रदान गरियो।

यसरी नै केरीकेचरमा फुर्बा डी लेप्चालाई फर्स्ट रनर अप र र्यापरमा सुदर्शन राईलाई सेकेण्ड रनरअपको खिताब प्रदान गरियो। यी द्वयलाई पनि मुख्यअतिथिको बाहुलीबाट क्रमैले नगद रुपियाँ एकलाख र रुपियाँ साठी हजार प्रदान गरियो भने अन्यलाई विजयीहरुलाई सान्त्वना पुरस्कार सहित नगद पुरस्कार प्रदान गरियो।
राज्यमा प्रथमपटक आयोजित सिक्किम गट ट्यालेन्ट सिजन एकमा मोठ बाह्रसय प्रतियोगीहरुमा चौधजना फाइनलमा पुग्न सफल भएका थिए।