खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटारस्थित बाघमारा बस्तीमा कृषि बागबाणी मेला हुने भएको छ। जीटीएको बागबाणी विभागको आयोजनामा आगामी ९ जनवरीदेखि चार दिवसीय रूपमा उक्त कृषि बागबानी मेला आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त कृषि बागबानी मेला आयोजना विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सांगठनिक सचिव एवं तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, सचिव सञ्जीव मंगर, समष्टीको उपाध्यक्ष कुसाङ लामा, सामाजिक कार्यकर्ता एंव गीतकार सुकुमार बराईली, विद्यार्थी संगठनको पक्षबाट सुभम प्रधान लगायत अन्यहरूले मेला आयोजना स्थल सिविटारको बाघमारा बस्तीको निरीक्षण गरेका थिए। कृषि बागबानी मेलाको पहिलो दिन ९ जनवरीको दिन सिविटारदेखि तीनधारे जाने रोडमा रहेको शिवखोलामा बनिएको पुलको पनि उदघाटन गरिने भएको छ। उक्त पुलको उदघाटन साथै चार दिवसीय कृषि बागबानी मेलाको उदघाटन कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीए मुख्य कार्यपाल अनित थापाको विशेष उपस्थिति रहेको जानकारी प्राप्त भएको छ। बाघमारा बस्तीमा हुने कृषि बागबाणी मेलाको लागि जेसीबी लागिरहेको स्थलमा निरीक्षणमा आएको प्रतिनिधि टोलीले पत्रकार भेला बोलाएर चार दिवसीय कृृषि बागबाणी मेला विषयमा जानकारी गराएका छन्।

उक्त टोलीको पक्षमा पत्रकारहरूसित कुराकानी गर्दै सुकुमार बराईलीले आगामी ९ जनवरी २०२३ देखि सिविटारको बाघमारा बस्तीमा चार दिवसीय कृषि बागवानी मेलाको आयोजना गरिने जानकारी गराएका छन्। उनले उक्त अवसरमा तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुका विभिन्न क्षेत्रहरूमा योगदान दिने विशिष्ट व्यक्तिहरूलाई सम्बर्ध्दना जनाइने भएको बताउँदै उक्त मेलामा म्यूजिक तीनधारेले आफ्नो कार्यक्रम प्रस्तुत गर्ने भएको पनि जनाएका छन्। बराईलीले यस मेलामा मुख्य आकर्षणको रूपमा गायक जितेन लेप्चाको सांगीतिक प्रस्तुति रहने पनि जानकारी गराएका छन्।