खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको आज भएको खेलमा मित्र संघ गोलाई पाखा, तीनधारे र नव ज्योति संघ चुनभट्टी बिजय बनेका छन्। नव ज्योति संघ चुनभट्टीको आयोजनामा तीनधारेको मिठाईडाँड़ास्थित खेल मैदानमा विगत २४ दिसम्बरदेखि शुरु भएको क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज बुधवार दुईवटा खेल सम्पन्न भएको छ। पहिलो खेल मित्र संघ गोलाई पाखा, तीनधारे र प्रगति संघ मिठाईडाँड़ामाझ सम्पन्न भएको छ। उक्त खेलमा मित्र संघले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा पाँच विकेट गुमाएर १२६ रन बनाउन सफल बनेको थियो। मित्र संघ गोलाई पाखाको तर्फबाट सुभम प्रधानले सर्वाधिक ३४ रन बनाएका थिए। १२६ रनको लक्ष्यलाई खेदो गर्दै प्रगति संघ मिठाईडाँड़ाले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर केवल ११७ रन मात्र बनाएर ९ रनले पराजित बनेको थियो। प्रगति संघको तर्फबाट सासाङ छेत्रीले सर्वाधिक ४७ रन बनाएका थिए। आज भएको दोस्रो खेल आयोजक नव ज्योति संघ चुनभट्टी र गैरी गाउँ तीनधारेमाझ सम्पन्न भएको थियो। उक्त खेलमा चुनभट्टीले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १४३ रन बनाएको थियो। यस खेलमा चुनभट्टीको पक्षबाट रञ्जित थापाले सर्वाधिक नट वाउट ५४ रन अनि आनन्द सुनारले ४३ रन बनाएका थिए। १४३ रनको पिछा गर्दै दोस्रो ब्याटिङ गरेको गैरी गाउँ तीनधारेले निर्धारित १५ ओभरमा केवल १२३ रन मात्र बनाउन सकेकोले चुनभट्टी २० रनले बिजय बनेका थिए। गैरी गाउँको तर्फबाट महेस एक्लैले नट आउट ७४ रन बनाएर पनि आफ्नो टिमलाई जीत दिलाउन सकेन। बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको आगामी ३० दिसम्बरको दिन हुने खेल अन्तर्गत सिविटार र विकास ११ माझ हुने भएको जानकारी आयोजक समितिको पक्षबाट रञ्जित थापाले दिएका छन् ।