‘भारती’मा पारसमणि प्रधानको ‘सम्पादकको पृष्ठ’ सुक्ष्म चियो  (भाग २)

सम्पादकको पृष्ठ, भारती वर्ष ४, संख्या १ – जुलाई १९५२ – असार २००९

हाम्रो रूचि                     

 “भारती’ मा प्रेम-कहानीहरू लेख्नुहोस् गुरूजी! म हजारप्रति एक सासमा बेचिदिन सक्छु” भनी अस्ति एकजना पुस्तक बिक्रेताले मलाई भने – उनले मुसुक्क हाँसेर यसो पनि भने – काम शास्त्रका कुराहरू लेखिदिनोस्, म तीन हजार कापी बेचिदिने भार लिन्छु……………” हुन पनि यसघरी हाम्रा मानिसहरूको मनोवृति यस्तै प्रेम-कहानी र कामुक प्रवृतितिर बढ्ता ढल्केको छ। हिन्दीको मनोहर कहानियाँ-को १०० कापी हात-हातमा बिकेको ठाउँमा दश कापी ‘भारती’ पढ्ने पाठक पाउन गाह्रो ।……………समाजलाई सोझो बाटोमा ल्याउने काम लेखक र कविहरूको हो । पत्र-पत्रिका त तिनीहरूका विविध भाव प्रकाश र प्रचार गरिदिने माध्यम मात्र हुन् ।“ (हस्ताक्षर) पारसमणि प्रधान । 

प्रेमिल कुरा बाहेक हाम्रो साहित्य क्षेत्रमा पाठक सम्बन्धित कुराहरू वर्तमानमा पनि त्यस्तै नै छन् की !!!!

सम्पादकको पृष्ठ, भारती वर्ष ४, संख्या २ – अगस्त १९५२ – साउन २००९ 

सहयोग – ‘तमसो मा ज्योतिर्गमय’

“लेखक-लेखिकाहरूको सहयोग नभई सम्पादकमा चल्मलाउने शक्ति हुँदैन, पाठक-पाठिकाहरूको सहयोग नभई लेखक-लेखिकाहरू मौलाउन सक्तैनन् औ ग्राहकहरूको सहयोग नभई प्रकाशकहरू उक्सन सक्तैनन् । …………गौड़बाट छात्र दिव्यकुमारका दुइ कविताहरू ‘फागू’ र ‘सन्ध्या’ नछापिए पछि वहाँले क्रोधित भई पत्राचार गरे पश्चात भारतीका सम्पादकको उत्तर यसप्रकारको छः- “नेपाली समाजमा यसघरी ‘प्रकाश’ ल्याउनु परेको छ, ‘सन्ध्या’ होइन । यो काम गरेर देखाउने बेला हो, ‘फागू’ खेलेर होइन ! विध्यार्थीहरूले पहिले विविध ज्ञान सञ्चय गरेर उच्च- सर्वोच्च परीक्षा पास गरेर समाजको काममा आफूलाई योग्य बनाउनु परेको छ, कर्मीहरूका काममा आलोचना, प्रत्यालोचना मात्र गरेर होइन । अरूलाई केही च्वास्स भन्नु भन्दा अघि आफूमा सो ल्याकत भएको नभएको बिचार गर्नुपर्छ । भनेर भन्दा गरेर देखाउनु असल हो । गरेर देखाऊ- भनेर होइन । यो भन्दा ठूलो सहयोग अरू के हुन सक्छ ?”  (हस्ताक्षर) पारसमणि प्रधान ।

 सम्पादकको धर्म र कर्त्तव्य दुवैमा सन्तुलन राखेर तत्त्कालीन साहित्यकारहरूलाई बुझ्न र बुझाउन सक्षम साहित्यसाधक पारसमणि प्रधानको अथक प्रयासको फलस्वरूप आजको साहित्य परिवेश स्थापित छ भन्नमा अत्युक्ति नहोला, मनन् र चिन्तन आवश्यक छ ।

 सम्पादकको पृष्ठ, भारती वर्ष ४, संख्या ३ – सेप्टेम्बर १९५२ – भदौ २००९

योग्य रवाफ

“Oxford and Cambridge students today are more concerned about earning during vacations than about spending them.” अर्थात यसघरी अक्सफोर्ड र केम्ब्रिजका बिध्यार्थीहरू खर्च गर्नु भन्दा विदामा कमाउन पट्टि बढ्ता ढल्केका छन् । लण्डनको स्टेशनमा झोला बोक्ने ज्यामीहरू प्रायः केम्ब्रिजका अर्थशास्त्रका बिध्यार्थीहरू हुन्छन् भनी कसैले भन्यो भने नेपाली बिध्यार्थीहरू मरी मरी हाँस्छन् ! तर यसमा सत्यता छ । “Earn while you learn” अर्थात कमाउँदै पढ़ ……………….एउटा बिध्यार्थीले आफ्नो गुण्टा बोक्नलाई ‘कुल्ली’ खोज्दा स्व. ईश्वरचन्द्र विध्यासागरले उसको गुण्टा बोकिदिएको कुरा कथा जस्तो सुनिन्छ तापनि सत्य घटना हो ।…………………..चोखो काम इमान्दारीसित गरेर दुइ पैसा कमाउन खोज्दा लाज लाग्छ भन्नु भन्दा ठूलो मूर्खता अरू के हुनसक्छ ? ……………….हात गोडा चलाएर खानेहरूमाथि डाह र ईर्ष्याको मात्रा झन् झन् बढ़दै जाँदो छ । यो शुभ लक्षण होइन ।……………काम नगरेर कुरै मात्र जोतेर कुनै व्यक्ति योग्य हुँदैन । योग्य हुन खोज्ने व्यक्ति वा राष्ट्रले Dignity of Labour (योग्य रवाफ ?) को आदर गर्न जान्नु पर्छ । लौ गरौं !” (हस्ताक्षर) पारसमणि प्रधान ।

वर्तमान समाजमा हाम्रा युवाहरूमा उक्त ज्ञानको खाँचो हामीले पनि बोध गरिरहेका छौँ जस्तो लाग्छ । त्यत्तिखेर आवश्यक ठहरिएको सन्देश आज पनि त्यतिकै समयसापेक्ष छ ।

 सम्पादकको पृष्ठ, भारती वर्ष ४, संख्या ४ – अक्टोबर १९५२ – असोज २००९

नयाँ लेखकललाई

“………….नयाँ लेखकहरूले आफ्नो नयाँ लेखलाई हत्तपत्त प्रकाशन गराउने उद्धोगमा नलागेर त्यसलाई गहकिलो, रूचिकर, दोषरहित बनाउने चेष्टातिर बढ्ता लाग्नु उचित हो। यति गर्नलाई लेखक वा कविले पहिले भित्री बलियो भएर मात्र बाहिर निस्कने काम गर्नुपर्छ । यसरी गरेको काम असफल हुनै सक्तैन । यस कुरामा लेखकले आफूलाई पत्याउनु पर्छ । भित्री खोक्रो रहँदै बाहिर निस्कन खोज्ने लेखक वा कविले ता चाँडै चाउरिनु पर्छ । यस कुरामा ध्यान रहोस् ।“ (हस्ताक्षर) पारसमणि प्रधानl आजभन्दा सात दशक अघि नेपाली साहित्य उत्थानको निम्ति पारसमणि प्रधानको मार्गदर्शन आजपनि उत्तिकै आवश्यक प्रयोजनीय भएको भान हुन्छ । यही भारती पत्रिकाको माध्यमबाट धेरै व्यक्तिहरूले साहित्यिक प्रेरणा प्राप्त गरेको दृष्टान्त यत्रतत्र पाइन्छ ।  क्रमशः (लेखिका गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष अनि सामाजिक कार्यकर्ता हुनुहुन्छ)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement