सुकनामा ९५औं गिरी जयन्ती पालन

सुकना: सुकना साहित्यिक-सांस्कृतिक संस्थानको तत्वावधानमा मङ्गलबार २७ दिसम्बरको दिन सुकनास्थित सार्वजनिक भवनमा ९५औं गिरी जयन्ती संस्थानका सभापति सूर्यमणि शर्माको अध्यक्षतामा सम्पन्न भयो। कवि अगमसिंह गिरी र संस्थानका संस्थापक सचिव स्व.सूर्यकुमार छेत्रीको प्रतिकृतिमा माल्यार्पण एवं दीप प्रज्वलन भई शुआरम्भ भएको कार्यक्रममा स्वागत गीत स्वरूप संगीतकार एवं गायक के.के. विश्वकर्माले गिरीद्वारा रचित नौ लाख तारा उदायो गीतलाई प्रस्तुत गरेका थिए। संस्थानका मूल सचिव जे.बी.छेत्री (बस्नेत) ले स्वागत सम्भाषणमा गिरी जयन्तीको औचित्य बारेमा सम्झाएका थिए। समारोहमा संस्थानका सदस्य- सदस्याहरूसँगै सुकनाका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू पनि उपस्थित रहेकोमा खुशी व्यक्त गर्दै उनले सबैलाई स्वागत जनाएका थिए।

अगमसिंह गिरीका कृतिहरू र काव्य प्रवृत्तिहरू बारेमा संस्थानका साहित्य विभागका सचिव  प्रा.मेघनाथ छेत्रीले विशद चर्चा गर्दै हामी गिरी जयन्ती मनाउनका साथै गिरीका कृतिहरुले  देखाएको जातीय चेतनालाई सबैले आत्मासात गर्ने आह्वान गरेका थिए। संस्थानका सह सचिव नवराज छेत्रीले रोचकताका साथ सञ्चालन गरेको उक्त समारोहमा प्रमुख अतिथि साउथ पोइन्ट स्कूल राभाङलाका प्राचार्य घनश्याम शर्मा  र विशिष्ट अतिथिहरूमा संस्थानका संरक्षक आई.एस. लामा, समाजसेविका श्रीमती मीरा राई,  दुर्गाराज थापा रहेका थिए। कवि राजा पुनियानीले गिरीका कविताहरूसँगै आफ्ना स्वरचित कविताहरू पनि पठन गर्दै नेपाली भाषाको वर्तमान अवस्था बारेमा पनि विचारहरू व्यक्त गर्दै आफ्नो भाषालाई सबैले हृदयदेखि माया गर्नुपर्ने कुरो बताएका थिए। समारोहमा श्रीमती अनुरा खवास (प्रधान), शिक्षकहरू क्रमैले देवराज शर्मा, अशोक प्रधान, नवराज छेत्रीसँगै विद्यार्थीहरू सागर शर्मा, सुश्री मेनुका गिरीले पनि स्वरचित कविता पाठ गरेका थिए भने सुश्री सोहिनी सिंहलगायत सुश्री अनुष्का सुब्बा र श्रेयचना लामाले सुन्दर नृत्यहरू प्रस्तुत गरेका थिए। समारोहका प्रमुख अतिथि घनश्याम शर्माले सुकना साहित्यिक-सांस्कृतिक संस्थानको कार्यको प्रशंसा गर्दै आफ्ना स्वरचित कविता पनि पाठ गरेका थिए। उनले आफू नोकरीको कारणले सुकनादेखि बाहिर रहेतापनि संस्थानप्रति आफ्नो यथासक्य योगदान रहने वचन दिए। समारोहका अध्यक्ष सूर्यमणि शर्माले संस्थानको भावी  कार्यक्रमहरूको जानकारी दिँदै सबैले आआफ्ना दायित्वलाई पूरा गरेमा संस्थानको उत्तरोतर प्रगति हुनसक्ने कुरो बताउँदै समारोहमा प्रस्तुत गरेका कार्यक्रमहरूको टिप्पणी दिएका थिए। संस्थानका कोषाध्यक्ष कृष्ण छेत्रीले धन्यवाद ज्ञापन गरेका थिए। समारोहमा सुकना साहित्यिक-सांस्कृतिक संस्थानका पदाधिकारीहरू, सदस्यगणलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो।

About Author

Advertisement