मधुर मिलन संघ, मिलनमोड़को तत्त्वावधानमा आयोजित नवौं मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा गत सालको विजेता दार्जीलिङ पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार मिलनमोड़ खेल मैदानमा भएको म्याचमा दार्जीलिङ पुलिसले क्याप्टन न्यौपाने फूटबल एकाडमी (मिलनमोड़)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्री र प्रशान्त राई (भाइचुङ)-ले गोल गरे। विजेता टीमका प्रशान्त राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने दोस्रो राउण्डको म्याचमा गत साल उपविजेता रहने दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र सिलगढ़ीको जंक्शन स्टार क्लबबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल ५ र ६ जनवरीमा हुनेछ। यसरी नै फाइनल ८ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।