हामी अहिले पनि अगमसिहं गिरीले देखाएको कुराहरू वरिपरि नै घुमिरहेका छौं: पारसचन्द्र आले
खरसाङ: गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा जातीय कवि अगमसिंह गिरीको जन्म जयन्ती समारोह सम्पन्न गरिएको छ। खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा सम्पन्न जातीय कवि अगमसिंह गिरीको ९६औं जन्म जयन्ती समारोहमा सभाध्यक्षको रूपमा पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपम अनि प्रमुख अतिथिको रुपमा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, पूर्व विधायक डा रोहित शर्मा, जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधान, खरसाङ नगरपालिकाको पूर्व पार्षद पेमेन्द्र गुरुङ आदि उपस्थित रहेका थिए। पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन तथा स्वागत सम्भाषण राखेको कार्यक्रममा अतिथहरूको बाहुलीबाट जातीय कवि अगमसिंह गिरीको सालिगमा फूल अर्पणसहित धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा कवि अगमसिंह गिरीमाथि साहित्यकार एंव पुस्तकालयको उपाध्यक्ष ऋषि राईले वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रममा कविहरू क्रमैले बालकृष्ण थामी र द्वारिका छेत्रीद्वारा स्वरचित कविताहरू अनि पुरोषत्तम अधिकारी, मिना राई, रचना अनाकार आदिले कवि गिरीद्वारा लिखित कविताहरू वाचन गरेका थिए। कार्यक्रममा गोर्खा जनपुस्ताकालयको स्वर्ण सदस्य, रजत सदस्य र आजीवन सदस्यहरूलाई स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइएको छ। गत समयमा पुस्तकालयको कार्यक्रममा उपस्थित नभएकाहरूलाई आजको कार्यक्रममा सम्मान जनाइएको छ।

यसै कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङको प्रतिवेदनहरूमाथि तयार पारिएको तथा ऋषि राई अनि रचना अनाकारद्वारा सम्पादित ‘प्रतिवेदनका पृष्ठहरू’ नामक पुस्तकको लोकार्पण पनि सभाध्यक्ष र प्रमुख अतिथिको बाहुलीबाट गरिएको छ। यस पुस्तकमाथि पुस्तकालयको पूर्व सभापति एंव समाजसेवी तिलक शर्माले वक्तव्य राखेका थिए। उनले यो पुस्तकको आवश्यकता साथै किन यो पुस्तक प्रकाशनमा ल्याउनु परेको भन्ने विषयमा जानकारी गराएका छन्। उनले गोर्खा जातीय विभूति उद्यानको सुन्दरीकरणको लागि खरसाङ नगरपालिकालाई निवेदन गर्दै जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधान समक्ष निवेदन गर्दै गोर्खा जातीय विभूति उद्यानको सुन्दरीकरणको लागि जीटीए चिफ् अनित थापासित पुस्तकालयको पदाधिकारीहरूको सभा मिलाईदिने पनि अनुरोध गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले जातीय कवि अगमसिंह गिरीले सिकाएको चिन्हारीको कुरा, परिचयको कुरा तेतिबेला नराखिदिएको भए हामी यो अवस्थामा आउने थिएनौं अनि सुवास घिसिङ आउने थिएन होला, हामी अहिले पनि अगमसिहं गिरीले देखाएको कुराहरू वरिपरि नै घुमिरहेका छौं भनी बताएका छन्। उनले अघि भने, ‘कवि गिरीलाई श्रध्दा गर्दै उनले देखेको सपना साकार गर्नलाई सबै एक भएर अघि बढ़ौं। हामीले हाम्रो चिन्हारी, अस्तित्व र परिचयको कुरा गर्छौं। हामीले गिरीको आयु र जन्म विषयमा चर्चा गर्छौं तर उनी ४३ वर्षभन्दा केही बेसी मात्र बाँचे। उनले २८ वर्षको उमेरमा नै याद खण्डकाव्य प्रकाशित गरिसकेका थिए।’ आलेलले कवि गिरीको कृतिहरू विषयमा पनि आफ्नो सम्बोधनमा चर्चा गरेका थिए। कार्यक्रममा सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले पनि वक्तव्य राखेका थिए। खरसाङमा सम्पन्न जातीय कवि अगमसिंह गिरी जन्म जयन्ती समारोह विषयमा गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। उनले आगामी १ जनवरीको दिन खरसाङको गोर्खा जातीय विभूति उद्यानमा अग्रणी भाषा सेवक पारसमणि प्रधानको १२३औं जन्म जयन्ती यही गोर्खा जातीय विभूति उद्यानमा बिहान १० बजेदेखि पालन गरिने जानकारी गराएका छन्।