
स्वनामधन्य भाग्यमणि नेवार भिक्षाचार्य अनि लक्ष्मीमाया श्रेष्ठको कोखबाट १ जनवरी १८९८ मा कालेबुङ बजार (अहिलेको डम्बर चोक) मा जन्म लिएका न्वारनको नाम प्रशमान प्रधान भएका डा० पारसमणि प्रधान नेपाली साहित्य आकाशका उज्जवल ध्रुवतारा हुन्। जीवन भरि नै नेपाली साहित्यका विविध विधाहरूमा बेहिसाब कलम दौड़ाएर आजको उन्नत नेपाली साहित्य संसारका निर्मातालाई सादर प्रणाम चढाउँदै वँहाको सम्पादकीय सन्देशबारे सुक्ष्म चियो प्रस्तुति प्रेषणको धृष्टता गर्दछु।
डा० पारसमणि प्रधान के चाँही होइनन्? सर्वप्रथम वहाँ हाम्रा छात्रछात्राका पाठ्य पुस्तक प्रतिष्ठाता हुन्। वहाँ एक वरिष्ठ भाषाविद, अब्बल शिक्षाविद, सफल पत्रकार, सर्वश्रेष्ठ वैयाकरण, वरिष्ठ कोशकार, निबन्धकार, समालोचक, कवि, कथाकार, दश नंग्री खियाउने सफल कृषिविद, आजीवन मौरी सरह परिश्रमी भएर जाति, समाज र समुदायको उत्थानको निम्ति समर्पित एक महान स्तुत्य तिर्थ व्यक्तित्व हुन्, संस्थान हुन् डा० पारसमणि प्रधान। वहाँ सम्बन्धि विभिन्न तत्त्ववेत्ताहरूका मन्तव्य निम्नप्रकार छन्-
१) प्रशमान प्रधान उद्धमी
निज भाषोन्नति प्रेमका धनी।
तिमिमा परमेश्वरले दया,
गरि बाधाहरू हर्दिउन् सदा।। प० धरणीधर शर्मा (सन् १९१६)
२) नेपाली साहित्यको सेवा भने पछि वाहाँलाई अरू थोक केही चाँहिदैन। समय, धन, परिश्रम, शारीरिक सुखको केही फिक्री छैन। वहाँको सम्पूर्ण जीवनको एकमात्र उद्देश्य नेपाली भाषा र साहित्यको सेवा हो। यस्तो अत्युत्कट मातृभाषा प्रेम वास्तवमा अत्यन्त आदरणीय र स्तुत्य छl – सूर्य विक्रम ज्ञवाली
३) ….. अनि पशुपतिनाथलाई पारसमणि पनि भनिन्छ, सो पारसमणिजी पनि पशुपतिनाथ झैं पूज्य छन्। – बालकृष्ण सम
४) पारसमणि प्रधानजीलाई म जन्मदैँको भाषा-भक्त भनेर मान्छु। -महानन्द सापकोटा
५) पारसमणि खालि साहित्यिक होइनन् तर ती हुन् एउटा इन्सटिटयूसन। -डा० सुनीति कुमार च्याटर्जी।
६) By way of appreciating Shri Parasmani Pradhan’s outstanding services to our language it will be no exaggeration to say that none of us individually or collectively have done as much for the spread and teaching of our Nepali Language as he has done. Had it not been for him, we would not have had suitable textbooks for our schools on various subjects even now and as such our language would not perhaps attained its present academic status at all.
– Rishi Kesh Singh, Ex-Ambassador of Nepal and Permanent Member of U.N.O.
७) पारसमणि प्रधान महान् एक निर्माता हुन् नेपाली साहित्यका, नेपाली जातिका।
एक व्यक्तिको समय र सामर्थ्यले यति विघ्न कामहरू गर्न सक्नु भ्याउनुभएको डा० पारसमणि प्रधानलार्इ हामी चिन्छौँ, उहाँ व्यक्ति जसले समय कहिल्यै व्यर्थमा नष्ट गर्नु भएन । पारसमणि प्रधान अब हामीलार्इ तीर्थ हुनुभएको छ। – डा० इन्द्रबहादुर रार्इ
८) Paras Mani Pradhan was a seasoned campaigner for the Nepali language, who was first concerned with the controversies surrounding the issue of standardisation and later made great efforts to obtain official recognition of Nepali as a major literary language from the Government of India. –Dr. Michael J. Hutt ( LONDON).
यहाँ थोरै मात्र उल्लेखित छन् – हामी भाग्यशाली हौँ, हामीले डा० पारसमणि प्रधानलार्इ साक्षात देख्न र सुन्न पायौँ। डा० पारसमणि प्रधानले १९१७ मा कलकत्ता विश्वविद्यालयबाट मेट्रिक परिक्षा दिएपछि खरसाङको डाउहिल स्थित डेभिस प्राथमिक पाठशालामा शिक्षकको रूपमा नियुक्ति पाएर अध्यापन गर्नु भएका थिए। यो कलमकारले आफ्नो प्राथमिक शिक्षा उही डेभिस प्राथमिक पाठशालामा अर्जन गरेकी हुँ, यो उल्लेख गर्न पाउँदा नै आफुलाई भाग्यशाली ठान्छु। अझ गर्वको कुरा यो पाठशालाको बिहानको प्रार्थना गीत डा० पारसमणि प्रधान लिखित –
“जय जय देवि चराचरसारे
कण्ठ-विलम्बित-मुक्ता-हारे।।
वीणा-रञ्जित पुस्तक हस्ते।
भगवति-भारती-देवि! नमस्ते”।।
कक्षा सुन, बी, एक, दुइ, तीन, चारसम्म……… एकचित्त भएर दुइ कर जोडी आँखा चिम्लेर, तोते बोलीमा स्वच्छ श्रद्धा लिएर, सानो मैदानमा पंक्तिवद्ध भएर पाठशालाको बिहानको उक्त
प्रार्थना गीत गाएर हुर्केका हौँ हामी, उक्त प्रार्थना सकेपछि राष्ट्रीय गीत जन गण मन नित्य गाउने गरथ्यौँ। मेरा अन्य सहपाठीहरूलार्इ पनि यो गीत स्मरण गराउन चाहान्छु। डा. पारसमणि प्रधानको बहु-आयामिक जीवनलाई पर्गेल्दा वहाँले आफ्नो किशोरावस्थादेखि नै सामाजोत्थानका कार्यभार बहन गरेको पाइन्छ – दार्जीलिङ हाई स्कूलमा छात्र हुँदा नै सन् १९१४ मा ‘गोर्खा साहित्य समाज’ स्थापना गरि सचिवको पदभार सम्हालेका थिए। सन् १९१७ मा खरसाङको ‘गोर्खा लाइब्रेरी’ मा अवैतनिक पुस्तकालय अध्यक्षको कार्यभार सम्हालेका थिए। ‘दि हिमालयन एम्येचर ड्रामाटिक एसोसिएसन’, वा गोर्खा एमेचर क्लब सन् १९१८ मा खरसाङमा नै स्थापित गरेका थिए अनि यही वर्ष नै (सेप्टेम्बर- अक्टोबर, १९१८ र मार्च १९१९) ‘चन्द्रिका’ मासिक पत्रिका सम्पादन गरि प्रकाशित गरे। सन् १९१९-१९२० मा ‘कालेबुङ गोर्खा समिति’ का सचिव, १९२१-२४ सम्म ‘दि हिमालयन चिल्ड्रेन एम्यूजमेन्ट एशोसिएसन’, दार्जीलिङका सचिव, रही कार्य संचालन गरेका थिए। २५ मई १९२४ मा दार्जीलिङमा पारसमणि प्रधान कै प्रस्तावमा नेपाली साहित्य सम्मेलनको स्थापना भएको थियो अनि वहाँ सम्मेलनको सचिवको पदमा सात वर्ष सम्म रहेर कार्य संचालन गरेका थिए। ७ जुन १९४९ देखि पारसमणि प्रधानले दार्जीलिङमा भारती सचित्र मासिक साहित्यिक पत्रिका सम्पादन गरे।
आजभन्दा प्रायः सात दशक अघि भारतीय नेपाली भाषा, साहित्य, समाज र संस्कृति सचेतक डा. पारसमणि प्रधानले जनमानसमा भाषा साहित्य मात्र नभएर सामाजिक व्यवस्था र अध्यवसायको निम्ति समर्पित भई सम्पादकको पृष्ठ मार्फत के कस्ता प्रयास गरेका थिए भन्ने सत्य तथ्य उजागर गर्ने प्रयास गर्दछु।
सम्पादकको चिट्ठी (आंशिक उद्रधृत, साभार) भारती वर्ष ४, संख्या १, १९५२ – असार २००९
मेरा प्यारा छात्र-छात्राहरू,
यो हो जुलाई महीना। प्रसिद्ध जुलियस सिजर जन्मेको महिना हुनाले यो अँग्रेजी महिनाको नाउँ जुलाई भएको हो। तर यो जुलाई महिनामा ठूला ठूला व्यक्तिहरूको जन्म भएको छ। यो महीनामा संसारमा ठूला ठूला घटना भएका छन्।……….१ जुलाईलाई कनाडामा ‘डोमिनियन डे’ भन्दछन्, ३ जुलाई, ‘डग डे’, ४ जुलाईमा अमेरिका निवासीहरू ‘स्वतन्त्र-दिवस’ मनाउँछन्। १० ताः जुलाई १८१४ ( तदनुसार २९ गते असार) को दिन आदि कवि भानुभक्त आचार्य तनहुँको रम्घा गाउँमा जन्मेका थिए।…..तिमीहरूको भलो चिताउने, (हस्ताक्षर) – पारसमणि प्रधान।
भारती मासिक पत्रिकामा बाल-भारती स्तम्भको माध्यमबाट विध्यार्थीवर्गलाई आकर्षित गर्ने वहाँको साधन यस प्रकार देखिन्छ। -क्रमश… (लेखिका गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष अनि सामाजिक कार्यकर्ता हुनुहुन्छ)