सोरेङ: टिम्बुरबुङ कञ्चन समिति नामक पञ्जीकृत सामाजिक संस्थाले २५ दिसम्बरको दिन पचास वर्ष पूर्ण गरेकोमा स्वर्ण जयन्ती भव्यरूपले पालन गर्यो। यस सभामा संस्थाका प्रमुख व्यक्ति १९८० को संसदीय चुनावमा लोकासभामा सदस्य समेत रहेर त्यसै समय सिक्किममा मनोनीत शिक्षामन्त्री समेत रहेका पहलमान सुब्बा र कञ्चन समितिको स्थापना १९७२ मा प्रमुख संस्थापक सदस्यको रूपमा कार्यभार लिएका पी एल शर्मा,वर्तमान सिक्किम अकादेमीका सचिव र अन्य दुइजना वरिष्ठ सदस्य डम्बर सिंह सुब्बा अनि सदस्या मन माया प्रधानलाई सम्मान अभिनन्दन जनायो। संस्थाका मूल स्तम्भ मानिने पहलमान सुब्बाले साहित्यको क्षेत्रमा ६-७ वटा पुस्तक प्रकाशित गरिसकेका छन् भने पीएल शर्माले अथक परिश्रम गरी प्रकाश कोविदद्वारा लिखित `देवता´ उपन्यासलाई नाटकमा परिणत गरी संस्थाभित्रैका भाइ बहिनीको सहयोगमा १९७४ मा भव्य मञ्चन पनि गरिएको थियो।
आजको भव्य कार्यक्रमको बीचमा संस्थाको सचिव जीके शर्माले उठान गरेको समितिभित्र मरूमराव हुँदा दिइदै गरेको सहयोग राशि रुपियाँ ७०० लाई स्वर्ण जयन्तीको उपलक्ष्यमा अफरको रूपमा अब उसो ८०० रुपियाँ दिने सुझावलाई सभापति पहलमान सुब्बाले ९०० रुपियाँ गरेर उदारभाव व्यक्त गरे। संस्थाका सदस्यहरूले वार्षिक चन्दा चाहिँ केवल २० रुपियाँमात्र जमा गर्ने व्यवस्था रहेको छ। यसरी कम भन्दा कम रकम उठ्छ तर सहयोगलाई सलाना जस्तो बढाएर दिने व्यवस्था टिम्बुरबुङ कञ्चन समितिले गरेको छ। योभन्दा अघिका वर्षहरूमा ८० वर्ष नाघिसकेका धेरै जना सदस्य सदस्यालाई अंग वस्त्र र सम्मान पत्रद्वारा अलङ्कृत गर्दै आइरहेको जानकारी गराइयो। स्वर्ण जयन्ती वार्षिक सभाको अध्यक्षता पहलमान सुब्बाले गरेका थिए भने विशिष्ट स्थानमा पी एल शर्मा र सिक्किम सरकारको खेलकूद विभागका सल्लाहकार मेघनाथ सुबा रहेका थिए।