नाम्ची: आज मुख्यमन्त्री प्रशिक्षण शिविरको उद्घाटन कार्यक्रम नाम्ची उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। दसौँ र बाह्रौँ श्रेणीका विद्यार्थीहरूलाई बोर्ड परीक्षामा उच्च अङ्क ल्याएर उत्तीर्ण गराउनु यस शिविरको मूल उद्देश्य रहेको छ। यो शिविर मुख्यमन्त्री पीएस तामाङ र उनकी धर्मपत्नि कृष्णकुमारी राईको निर्देशनमा गरिएको बताइएको छ। शिविरको उद्घाटन कार्यक्रममा नाम्ची नगर परिषदकी उपाध्यक्ष सावित्री तामाङ मुख्य अतिथि रहेकी थिइन्। कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष तामाङले मुख्यमन्त्री पीएस तामाङ र उनकी धर्मपत्नि कृष्णकुमारी राईको ठूलो हृदय रहेकाले यस प्रकारको शिविर आयोजना हुन सकेको बताइन्। उनले यस शिविरबाट विद्यार्थीहरूलाई लाभ उठाएर आ-आफ्नो भविष्य उज्जवल बनाउने अनुरोध पनि गरिन्। कार्यक्रममा यस शिविरका मुख्य सञ्योजक रवि खालिङले शिक्षा र स्वास्थ्य ठिक भए समाज पनि ठिक हुने विचार प्रकट गरे। यो प्रशिक्षण सित्तैमा पाएको हो भनेर हेलचेक्राई नगर्न पनि उनले विद्यार्थीवर्गलाई अनुरोध गरे।विद्यार्थीहरूले अनुशासनको पालन नगरेको खण्डमा उनीहरू विरूद्ध उचित कारबाही गर्ने चेतवानी पनि दिए। दुई महिनाव्यापी यो शिविर आगामी दुई जनवरीदेखि आरम्भ हुने र दुई जनवरीसम्म इच्छुक विद्यार्थीहरूले निशुल्क प्रशिक्षणको लागि नाम दर्ता गर्नु सक्ने उनले जानकारी गराए। ज्ञात रहोस्, यस प्रकारको शिविर २०१८ देखि शीतकालिन विधामा आयोजन गरिदै आएको छ भने यसको परिणाम पनि राम्रो देखिएको छ। कार्यक्रममा नाम्ची उच्चतर माध्यमिक विद्यालयका प्राचार्य हरिप्रसाद मंगर, सहायक निर्देशक (शिक्षा) विरेन्द्रकिशोर गौतम, पार्षद सैलेन्द्र छेत्री, पार्षद जङ्गबहादुर राई, सञ्योजक सीपी सापकोटा आदिको पनि उपस्थिति रहेको थियो।










