बाग्राकोट: यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कार वाराणसीका दुर्गाप्रसाद श्रेष्ठलाई अर्पण गरिने निर्णय लिइएको छ। नेपाली साहित्यको श्रीवृद्धिमा दीर्घकालीन सेवा पुऱ्याएबापत् श्रेष्ठलाई यो पुरस्कारद्वारा अलङ्कृत गरिने बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, डुवर्सले निर्णय लिएको प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले जानकारी गराएका छन्। बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा शनिवार बाग्राकोटमा सम्पन्न बैठकमा प्रस्तावित नामहरूमाथि व्यापक छलफलपछि श्रेष्ठको नामलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। आगामी १५ जनवरी, २०२३ का दिन बाग्राकोटमा आयोजन हुने एक भव्य पुरस्कार अलङ्करण समारोहमा श्रेष्ठलाई १२औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कारद्वारा अलङ्कृत गरिनेछ। पुरस्कारमा सम्मान-पत्र, अङ्गवस्त्र र नगद राशि सम्मिलित रहनेछ।
सन् १९३९ मा जन्मिएका दुर्गाप्रसाद श्रेष्ठको पहिलो कथा सन् १९५७ मा प्रकाशित भएको थियो। ६ दशकभन्दा लामो समयदेखि वाराणसीबाट साहित्य सेवामा समर्पित भएर काम गर्दै आएका श्रेष्ठ सुपरिचित आख्यानकार, समालोचक, अनुवादक तथा सम्पादक हुन्। हिन्दी र अङ्ग्रेजी भाषामा पनि उनका कृतिहरू प्रकाशित छन् भने कथाहरू अन्य भाषामा अनुवाद भएका छन्। उनले लामो समयदेखि ‘उदय’ पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन्। उनका प्रकाशित कृतिहरूमा ‘सम्झनाको बादल’ (कथा सङ्ग्रह), १९६७, ‘आठव मेघ’-को रूपमा मराठीमा पनि अनूदित (१९८८), ‘स्पन्दन’ (कविता सङ्ग्रह), १९७०,. ‘उसैका लागि-एक अध्ययन’ (समालोचना), १९७०, ‘उसका अन्तहीन कथाहरू’ (उपन्यास), १९७२, ‘भाग्य रेखा’ (उपन्यास), १९७३, शेषान्तर (उपन्यास), १९७४, ‘कोसेली’ (उपन्यास), १९७५, ‘वाग्मती साक्षी छ’ (उपन्यास), १९८० आदि प्रमुख छन्। यसबाहेक हिन्दी र अङ्ग्रेजीमा उनका आधा दर्जनभन्दा बढ़ी कृति प्रकाशित छन्। उनले साहित्य अकादमीको अनुबन्धमा केही जीवनी तथा विनिबन्धहरू पनि लेखेका छन्।
नेपाली साहित्यका एक समर्पित साधकलाई १२औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गर्न पाउँदा बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले हर्षबोध गरेको छ। बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालले भने, वाराणसीमा बसेर सुदीर्घ साहित्यसेवामा समर्पित व्यक्तित्व श्रेष्ठलाई सम्मानित गर्न पाउँदा हामीलाई खुशी लागेको छ। उनका कार्यहरू प्रशंसनीय छन्। उनीजस्ता व्यक्ति चयनित हुँदा पुरस्कारको उद्देश्य र गरिमा उजिलिएर जानेछ भन्ने कुरामा हामी निश्चित छौँ। यसैगरी, प्रतिष्ठानका पूर्व महासचिव तथा युवा निबन्धकार अजय खड्काले पनि प्रतिष्ठानको यो निर्णयले डुवर्स र वाराणसीको सम्बन्धलाई नयाँ आयाम दिएको मन्तव्य गरे। २००९ मा कमलमणि दीक्षितका साथमा बद्रीनारायण प्रधानलाई मदन स्मारक सम्मान प्रदान गर्न श्रेष्ठ स्वयं बाग्राकोट आएको, उनलाई डुवर्स नेपाली साहित्य विकास समितिद्वारा सम्मान गरिएको अनि उनले ‘उदय’-को डुवर्स विशेषाङ्क प्रकाशित गरेका कुराहरूको पनि खड्काले स्मरण गरे।










