श्रेयस अय्यर र रविचन्द्रन अश्विनले दबाउको परिस्थितिमा आठौं विकेटको निम्ति गरेको ७१ रनको अटूट साझेदारीले गर्दा भारतले दोस्रो तथा अन्तिम टेस्ट म्याचमा बंग्लादेशलाई ३ विकेटले पराजित गऱ्यो। यस रोमाञ्चक जीतको साथै भारतले दुईवटा टेस्ट म्याचको सीरीज पनि २-०-ले क्लीन स्वीप गऱ्यो। जीतको निम्ति १४५ रनको मामूली लक्ष्यलाई खेदो गर्दै पनि भारतले एक समय ७४ रनमै ७ विकेट गुमाइसकेको थियो। यस्तो दबाउको क्षणमा अय्यर र अश्विनले मोर्चा सम्हाले। यी दुईले डटेर ब्याटिंग गर्दै भारतलाई लक्ष्यसम्म पुऱ्याए। अश्विनले ६२ बलमा ४ वटा चौका र एउटा छक्काको साथ अविजित ४२ रन बनाए। यसबाहेक अय्यरले ४६ बल खेलेर ४ वटा चौकाको साथ अविजित २९ रन बनाए। यसरी भारतले ७ विकेट गुमाएर १४५ रनको लक्ष्यलाई हासिल गऱ्यो। भारतले यसअघि चट्टग्राममा खेलिएको पहिलो टेस्ट म्याचमा १८८ रनले जीत हासिल गरेको थियो। दोस्रो टेस्टमा जम्मा ६ विकेट लिनको साथै दोस्रो ईनिंग्समा सर्वाधिक अविजित ४२ रन बनाउने अश्विनलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दुईवटा टेस्ट म्याचमा २२२ रन बनाउने चेतेश्वर पुजाराले प्लेयर अव् द सीरीजको पुरस्कार जिते।

जीतको निम्ति हासिल भएको १४५ रनको लक्ष्य सानो लागे पनि बंग्लादेशले भारतीय टीमलाई शुरुदेखि नै चेपारोमा पाऱ्यो। भारतले तेस्रो दिन नै केवल ४५ रन बनाएर शीर्ष ४ विकेट गुमाइसकेको थियो। मीरपुरको शेरे बंग्ला नेशनल स्टेडियमको पीचबाट प्राप्त भइरहेको टर्नलाई काममा लगाउँदा बंग्लादेशका स्पिनरहरूले भारतीय ब्याटरहरूलाई शुरुदेखि नै समस्यामा पारे। भारतले आज पनि नाइट वाचम्यान जयदेव उनादकट (१३)-को साथमा फर्ममा रहने रिषभ पन्त (९) र अक्षर पटेल (३४)-लाई लगातार अन्तरालमा गुमायो। यसरी ७ विकेटको पतनपछि चाहिँ अय्यर र अश्विनले मिलेर असाधारण ब्याटिंग गर्दै भारतलाई रोमाञ्चक जीत दिलाए। बंग्लादेशका बलरहरूमा मेहदी हसन मिराजले सर्वाधिक ५ विकेट लिए। यसबाहेक शाकिब अल हसनले २ विकेट हासिल गरे। यस टेस्ट म्याचमा बंग्लादेशले आफ्नो पहिलो ईनिंग्समा २२७ रन बनाएको थियो। त्यसपछि भारतले ३१४ रन बनाएर पहिलो ईनिंग्सको आधारमा ८७ रनको बढ़त हासिल गरेको थियो। बंग्लादेशले पछिबाट आफ्नो दोस्रो ईनिंग्समा २३१ रन बनाउँदा भारतले जीतको निम्ति १४५ रन बनाउने लक्ष्य हासिल भएको थियो।