फ्रेञ्च ओपनः रेकर्ड १४औं पल्ट च्याम्पियन बने नडाल

photocollage_202266122755449.jpg

६ जूनः रोलाँ ग्यारोको रातो माटोमा आफ्नो अधिपत्यलाई कायम राख्दै स्पेनका स्टार खेलाड़ी रफायल नडालले फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको खिताब जिते। पाँचौं वरीयता प्राप्त ३६ वर्षीय नडालले पुरुष एकलको फाइनलमा नर्वेका कास्पर रुडलाई सीधा सेटमा ६-३, ६-३, ६-०-ले पराजित गरे। यसको साथै उनले फ्रेञ्च ओपनमा रेकर्ड १४औं पल्ट ट्रफी जिते। यसबाहेक समग्रमा यो नडालको रेकर्ड २२औं ग्राण्ड स्ल्याम खिताब हो। उनी सर्वाधिक ग्राण्ड स्ल्याम खिताब जित्ने पुरुष खेलाड़ी हुन्। दोस्रो स्थानमा रहने स्विट्जरल्याण्डका रोजर फेडरर र सर्बियाका नोवाक जोकोविचको नाममा २०-२० वटा ग्राण्ड स्ल्याम खिताब रहेको छ। नडालले अहिलेसम्म एकपल्ट पनि फ्रेञ्च ओपनको खिताबी म्याच गुमाएका छैनन्। उनले केवल १९ वर्षको उमेरमा २००५-मा पहिलोपल्ट पेरिसमा ट्रफी जितेका थिए। त्यसपछि उनले २००६, २००७, २००८, २०१०, २०११, २०१२, २०१३, २०१४, २०१७, २०१८, २०१९ र २०२०-मा पनि फ्रेञ्च ओपनको खिताब जितेर आफूलाई रातो माटोको बादशाहको रूपमा स्थापित गरे। फ्रेञ्च ओपन क्ले कोर्टमा खेलिने हुनाले नडाललाई क्ले कोर्टको बादशाह भनेर पनि चिनिन्छ।
रुडलाई पराजित गरी ट्रफी जित्नको साथै नडाल फ्रेञ्च ओपनको खिताब जित्ने सबैभन्दा अधिक उमेरका खेलाड़ी पनि बने। आन्द्रे गिमेनोले ५० साल अघि ३४ वर्षको उमेरमा खिताब जितेका थिए। यसपाली नडालले उनको रेकर्ड तोड़ेका छन्। नडालले यसअघि सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनको खिताब पनि जितेका थिए। यसरी उनी पहिलोपल्ट सालको पहिलो दुईवटा ग्राण्ड स्ल्याम जित्न सफल भए। यो नडालको ९२औं एकल खिताब पनि हो। यस मामिलामा अहिले तीनजना खेलाड़ी उनीभन्दा अघि रहेका छन्। पुरुष एकलको फाइनलमा नर्वेका खेलाड़ी रुडले आफ्नो आदर्श नडाललाई कुनै प्रकारको चुनौती नै दिन सकेनन्। २३ वर्षीय रुडले एक समय नडालकै एकाडमीमा अभ्यास गर्थे। नडालले फाइनल म्याच केवल २ घण्टा र १८ मिनटमा जिते। दोस्रो सेटमा रुड एक समय ३-१-ले अघि थिए तर नडालले पनि लगातार ५ गेम जितेर सेट आफ्नो नाम गरे। तेस्रो सेटमा त रुडले एउटा गेम पनि जित्न सकेनन् अनि उनको च्याम्पियन बन्ने सपना भताभुंगै भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement