कलाकारहरूका पथ प्रदर्शक: कलाकार शिवकुमार राई      

00-Shiva-KUmar-Rai-2

नेपाली साहित्य संसारमा शिवकुमार राई एक जादूमय नाम हुन्। यसै पनि जादू देखाउने शिवकुमार राईले पाठक र श्रोताको हृदयमा उनको लेखनी र वाक कलाको सीपले मोहनी लगाएर मक्ख पारेका हुन्। श्रोता पाठकका मनमा उनी यति मीठो छाएका छन् जसरी चटक्क छाउँछन् नेपाली भाषामा क्रियायोगी शब्दहरू। बहुमुखी प्रतिभाका स्वामी शिवकुमार राईको व्यक्तित्वका अनेक आयामहरू छन् जस्तै साहित्यिक, राजनैतिक, सामाजिक, आध्यात्मिक, खेलकुद, जादूगरी, प्रसारण, पत्रकारिता, सम्पादन इत्यादि। शिवकुमार राईलार्ई आज हामी उनैले ठूलो बनाइदिएका नाकको डाँड़ीमाथि ‘कला दर्पण’-को चश्मा अड्याएर कलाकारहरूलाई प्रेरित र प्रोेत्साहित गर्ने  व्यक्तित्वका रूपमा उनलाई हेर्नेछौं।

सम्झनाका झोलाहरूमा बढ़ो सुन्दर प्रकारले सम्हालेर राखेकी छन् शिवकुमार राई सरको स्मृतिलाई उनकै प्रसिद्ध ‘शम्भु दाइको हुलाक’ कार्यक्रमकी शोभा बहिनीले। आकाशवाणी खरसाङकी तिब्बती एकांशकी पूर्व वरिष्ठ उद्घोषिका श्रीमती छिमी अङमु लामा (शोभा बहिनी) पोखिन्छिन् यादका हरफहरूमा, ‘आकाशवाणी खरसाङ स्थापित भएर १९६२ को २ जूनमा उद्घाटन थियो त्यसै दिन मैले शिवकुमार राई सरलाई देखेकी। मोटो मान्छे, गोरे, पहाड़े टोपी लगाएका, फूर्तिसाथ यताउता गरिरहेका! को हालान् भनेर सोचें। शिवकुमार राई उहाँ नै हुन् भन्दा पो ‘ए डाकबङ्गला लेख्ने?’ भनेर म खुशी भई उहाँलाई हेर्नलागें। उहाँचाहिँ नेपालीको प्रोड्यूसर हुन् भनेर प्रथम उहाँको विषयमा मैले जानें। मचाहिँ सिक्किमी यूनिटमा सिक्किमी भाषाको कार्यक्रम प्रसारण गर्नेमा थिएँ मेरा बाबा, म र मेरा अन्य केही साथीहरू। म कम्पियर एनाउन्सर पदमा थिएँ। नारी कार्यक्रम र बाल कार्यक्रमहरूको कम्पियर पनि गर्नुपर्ने। तर मैले नेपाली भाषा पढ़ेको सानैदेखि, दार्जीलिङ सन्त टेरेजा पढ़ेकी। त्यसैले गर्दा मेरो झुकाउ नेपाली भाषाका कार्यक्रमहरूप्रति पनि थियो। मेरो आवाज सरले खुबै मन पराउनुहुन्थ्यो। ‘तिम्रो स्वर मीठो छ, तिमीले अलिक नाटकहरू पनि गर्नुपर्छ है!’ भन्नुहुन्थ्यो। मलाई पनि खुब मन पर्थ्यो नाटकहरू गर्नु। नाटकहरूमा म खुब भाग पनि लिन्थें। सरले ‘म एउटा नाटक लेख्दैछु त्यसमा तिमी मुख्य भूमिका गर्ने है!’ भनेर भन्नुहुँदा म खुशी भएँ। त्यो रेडियो नाटकको नाम थियो ‘बाँसुरी’। हामीले त्यो नाटक गर्‍यौं, म थिएँ नायिका। त्यो नाटक उहाँलाई खुबै मन पर्‍यो। त्यसपछि सरले अरू नाटकहरू लेख्दै जानुभयो। उहाँको ‘फ्रन्टियर’ कथा सङ्ग्रहबाट पनि ‘प्रकृतिपुत्री’, ‘यात्री’ अदि धेरै कथाहरूलाई सरले रेडियो नाटक बनाउनुभयो र मैले ती सबैमा भाग लिएँ। यसरी सरसित मेरो परिचय हुँदै गयो। सरले तिहारमा गीतहरू पनि बनाउनुहुन्थ्यो। भानु जयन्तीको बेलामा सरको छत्रछायामा भानुका शब्दहरूलाई त्यसबेलाका उद्घोषक मानवीर सिंह दाइले धुन बनाउनुहुन्थ्यो। उहाँ सङ्गीतमा खुबै पाराङ्गत हुनुहुन्थ्यो। उहाँले खुबै मिठोमिठो धुन लगाएर बनाएका भानुभक्तका गीतहरूलाई हामीचाहिँ गाउने। त्यसबेला लोकनाथ दाज्यू, बाबु काजी, भाइ काजी अनि बेलाबेला कुमार सुब्बाज्यू पनि आइपुग्नुहुन्थ्यो। अरू गायक गायिकाहरू पनि दार्जीलिङबाट आइपुग्थे, त्यसमा हामी पनि सामेल हुन्थ्यौं।

दशैँ चाड़बाड़को बेलामा दुर्गा स्तुतिका गीतहरू सरले खुब मजाले बनाउनुहुन्थ्यो। त्यसलाई पनि हामी गाउँथ्यौं। हुँदाहुँदा सरले पछि भन्नुभयो, ‘म एउटा पत्रोत्तरको कार्यक्रम गर्नुपर्‍यो त्यसमा स्वरचाहिँ तिम्रै दिनुपर्छ है! तिमीले पत्रहरू पढ़ने, अनि म त्यसको उत्तर दिन्छु। यो कार्यक्रम खुबै स्वभाविक ढङ्गमा गर्नुपर्छ।’ मैले हुन्छ भनें। मलाई त खुशी लाग्ने, मजा लाग्ने। सरसित मजाक भइरहने, जिस्काउँथ्यौं पनि हामी। म भन्थें, ‘सर म राम्रोसँगले भाग लिन्छु तर भरे सिङ्गड़ा खानु लैजानुहोस् है दोकानमा! साथीहरू तारा, मेनका र अरू साथीहरूलाई पनि लैजानुपर्छ।’ सरले पनि हिँड़ केटी हो भनेर लैजानुहुन्थ्यो। मैलेचाहिँ बेलाबेलामा सरलाई, ‘तपाईं कति राम्रो लेख्नुहुन्छ लेख्नुहोस्न सर, अलिक लेख्नुहोस्न! डाकबङ्गला त पढें नी!’ भन्दा सरले भन्नुहुन्थ्यो, ‘बुझ्यौ केटी डाकबङ्गला यो कहानीलाई म फिल्म बनाउन चाहन्छु। तर खर्च बहुत लाग्छ। फेरि कसैले ‘होइन सर त्यो दोस्रो महायुद्धका सीनहरूचाहिँ स्टकबाट ल्याइयो भने हुन्छ त!’ भन्दा सरले ‘कहाँ हुन्छ त्यसरी? स्टकको राम्रो कहाँ हुन्छ?ओरिजिनल खिच्नुपर्छ। युद्धजस्तै देखाउनुपर्छ, एकदम न्याचरल, प्राकृतिक ढङ्गले गर्नुपर्छ तर त्यसमा रत्नाको भूमिकाचाहिँ छिमी तिमीले गर्नुपर्छ’ भनिरहनुहुन्थ्यो। मचाहिँ भन्थें, ‘कहिले बनाउनुहुन्छ हौ सर! म त रत्ना हुनुपर्‍यो नि!’ हाँसखेल पनि गर्थ्यौं। ‘केटी! दसवटा लन्ठा छ। खर्च पनि बहुत जान्छ, गर्ने इच्छा त छनि!’ भन्नुहुन्थ्यो। घरिघरि हाँस्नु पनि हुन्थ्यो। त्यसो हुँदा हुँदा धेरैवर्ष बितेपछि मेरो बिहे भयो अनि म एउटी छोरीकी आमा पनि भएँ। एकदिन सरलाई भनें, ‘सर हेर्नुहोस् त तपाईंले मलाई रत्नाको भूमिका दिन्छु, म रत्ना हुन्छु भनेर सोच्दासोच्दै म त आमा भएँ। अब रत्नाको पाठचाहिँ मेरी छोरीले निभाउँछे है सर!’ सरले मरिमरि हाँस्दै भन्नुभएको थियो,‘यो केटीले के भन्छे भन्छे!’ म सरलाई लेखिरहनुहोस् भन्थें। बेलाबेलामा मैले पनि दुईतीन लाइन केके लेखेर सरलाई देखाउँथें। सर भन्नुहुन्थ्यो ‘लेख। तिम्रोमा लेख्ने क्षमता छ, लेख।’ म खुशी भएर लेख्ने काम गर्थें। सरले प्रेरणा दिनुहुन्थ्यो। त्यसरी सरसित धेरै नगीच भयौं। सरलाई नानीहरू खुब मन पर्ने! त्यो विषयमा मैले शिवकुमार राई स्मृति ग्रन्थमा ‘सम्झनाका रेशाहरू’ शीर्षकमा एउटा लेख लेखेकी छु। सरसितका रमाइला सम्झनाहरूमा सरले शम्भु दाइको हुलाक कार्यक्रममा उसबेलाको फेसनमाथि आएको एउटा प्रश्‍नको निम्ति दिनुभएको एउटा उत्तर मलाई खुबै घतमा लागेको थियो। त्यो उत्तरमा त्यतिबेलाको भेषभूषालाई उतार्नुभएको थियो। सरले भन्नुभयो- ‘च्याउकट केशमा, परेली खिपेको भेषमा, अनुहारै ढाक्ने चेस्मा, सुली सोहोर्ने म्याक्सी, टुकी निभाउने पतलून।’ अनि मेरो हाँसोको फुहारा छुटेको थियो। हामीलाई भेट्न र हेर्न कताकताबाट मानिसहरू आउँथे, फोटोहरू खिच्थे अनि अटोग्राफ लिएर जान्थे।’

शिवकुमार राई हितैषीहरूको हृदयमा सम्झनाको फूल बनेर याद मगमगाउँदै बसेका छन्। आकाशवाणी खरसाङकी अवकाशप्राप्त वरिष्ठ उद्घोेषिका श्रीमती तारा सिन्हाको सम्झनाको तलाउमा फुलेको छ यादको कमल यसरी, ‘श्रद्धेय गुरुजी शिवकुमार राईज्यूसँग मेरो प्रथम भेट आकाशवाणी खरसाङमै भएको थियो। म आकाशवाणी खरसाङ आउनभन्दा एक वर्ष अघाड़ि आकाशवाणी गुवाहटीमा अस्थायी कलाकारको रूपमा काम गर्दै थिएँ। त्यतिबेला त्यहाँ हरिप्रसाद गोर्खा राई नेपाली कार्यक्रमको प्रभारी हुनुहुन्थ्यो। सायद उहाँ नै हाम्रो गोर्खा समुदायबाट प्रथम सहायक केन्द्र निदेशक हुनुहुन्थ्यो। उहाँले नै मलाई आकाशवाणी गुवाहटीमा अस्थायी उद्घोषकको रूपमा काम गर्ने मौका दिनुभयो अनि मैले रेडियोमा प्रथम उहाँबाट नै प्रशिक्षण प्राप्त गर्ने मौका पाएँ। त्यहाँ काम गर्दै गर्दा २ तारीक जून १९६२ मा आकाशवाणी खरसाङ शुरु हुने भयो र म गोर्खा सरकै सुझाउले खरसाङ आइपुगें। खरसाङमा त्यतिबेला श्री एस.सी. बासु केन्द्र निदेशक हुनुहुन्थ्यो। उहाँले म खरसाङ आइपुगेको भोलिपल्टै ‘काम शुरु गर!’ भन्नुभयो  तर मैले एक हप्ता समय मागेर हप्तादिनपछि आकाशवाणी खरसाङ केन्द्र जोइन गरें। यहाँ आएपछि मेरो भेट श्रद्धेय गुरुजी शिवकुमार राईसित भयो। केन्द्र निदेशक महोदयले शिवकुमार राई सरलाई बोलाएर ‘उसले प्रशिक्षण लिइसकेकी छन् उसलाई काम दिनू!’ भनिसकेपछि सरले मलाई केही कुराहरू सोध्नुभयो र भन्नुभयो, ‘तिमीले त काम प्राय: सिकिसकेकी रहिछ्यौ। तिमीलाई तालिम दिनु पनि परेन।’ त्यसपछि मलाई एनाउन्सरको कार्यमा उहाँले हालिदिनुभयो। म आफैंलाई भाग्यमानी ठान्छु आकाशवाणी गुवाहटीमा पनि मैले त्यत्रो ठूलो सहित्यिक महारथीको समीपमा रहेर उहाँको मार्गदर्शनमा काम गर्नु पाएँ। फेरि भएन आकाशवाणी खरसाङमा पनि श्रद्धेय गुरुजी शिवकुमार राई सरको छत्रछायामा कामहरू सिक्नुपाएँ। यसमा म बहुतै भाग्यमानी ठान्छु आफैंलाई। सरले शुरुदेखि नै सिकाउनुहुन्थ्यो नेपाली कस्तो प्रकारले लेख्नु, कसरी उद्घोषणा गर्नु इत्यादि। उहाँ भन्नुहुन्थ्यो, ‘एकदम ठूला ठूला शब्दहरू प्रयोग नगर्नु किनकि रेडियो पढ़े-लेखेकादेखि नपढ़ेकासम्म श्रोताहरूले सुन्छन्!’ सरले एकदमै साधारण रूपले उद्घोषणाहरू लेख्न सिकाउनुभयो। अनुवाद गर्दा पनि साधारण शब्दहरू प्रयोग गर्नु लगाउनुहुन्थ्योे। उहाँले आकाशवाणीमा प्रोेड्युसर साथै हाम्रो अभिभावकको रूपमा कामहरू सिकाउनुहुन्थ्यो। उहाँले उद्घोेषणा गर्नुमात्र लगाउनुभएन। त्यतिबेला नाटकका कलाकारहरू पनि थिएनन् र हामीले नै भाग लिनुपर्थ्यो नाटक रूपकहरूतिर पनि। तर उहाँले सबै काम सजिलो प्रकारले सिकाउनुहुन्थ्यो। ‘ड्यूटी सकेपछि केटीहरू रेकर्डिङ छ नजानू! आज एउटा नाटक छ/आज एउटा रूपक छ।’ भन्नुहुन्थ्यो। त्यसरी सरले सिकाउनुभएर हामीले उद्घोषणा, नाटक, रूपक सबै क्षेत्रमा नै भाग लिने गर्थ्यौं। अफिसमा त भइगयो कार्यालयबाहिर पनि उहाँले बुद्धि दिएर अभिभावकको जिम्मा निभाउनुहुन्थ्यो। यहाँसम्म कि मलाई त पैसा बेसी खर्च गर्‍यो भनेर ब्याङ्कमा उहाँ आफैंले गएर एउटा पासबुक पनि खोलिदिनुभएको थियो अनि प्रत्येक महीना मलाई त्यहाँ पैसा हाल्यो कि हालेन भनेर खै गर्नुहुन्थ्यो। शिवकुमार राई सरले सधैँ मलाई अभिभावकको रूपमा मार्गदर्शन गर्नुभयो। पढ़ाइ लेखाइमा पनि ‘यस्तो गर उस्तो गर’ भनेर सिकाउनुहुन्थ्यो। यस्ता अर्का गरुजी हामी पाउँदैनौं पनि होला। यसको निम्ति मआफैंलाई घेरै भाग्यमानी ठान्दछु। शम्भु दाइको हुलाक कार्यक्रममा शोभा बहिनीको अनुपस्थितिमा मैले श्यामा बहिनी भएर कैयौंपल्ट पत्रहरू पढ़ेकी छु। यो कार्यक्रममा सरले खालि प्रश्‍नहरू अलग्गै लेखेर दिनुहुन्थ्यो। उत्तर कहिल्यै देखाउनुहुन्नथ्यो। त्यो लाईभ ब्रोडकास्टमा सरले यति साह्रो हँसाउनुहुन्थ्यो, यति साह्रो हँसाउनुहुन्थ्यो फेरि अर्को प्रश्‍न सोध्नु पनि साह्रो पर्थ्यो। यसरी प्राय: पच्चीस वर्ष हामीले सरसित काम गर्‍यौं।’

आकाशवाणीसित जोड़िएर आफूलाई कार्यक्रमको साँचामा ढालेर प्रख्यातिको गहना कमाउने पूर्वउद्घोषक/समाचार वाचक/कमेन्टेटर/गीतकार हुन् डा. जस योञ्जन ‘प्यासी’। उनले आकाशवाणीबाट बोलीको जादू लगाएर लोकप्रियताको पगरी गुँथे। बिजनबारी कालेजका पूर्व प्राचार्य ‘प्यासीज्यू’-ले भेटे, चिने र बुझे शिवकुमार राईलाई यसरी, ‘शिवकुमार राई विराट प्रतिभाका धनी हुन्। खालि साहित्य स्रष्टाको रूपमा मात्र होइन अन्य कलाका क्षेत्र, रातनीतिको क्षेत्र र अरू अरू क्षेत्रहरूमा पनि शिवकुमार राईको धेरै यागेदान रहेको हामी पाउँछौं। अब आजको सन्दर्भमा मलाई लाग्छ प्राय: शिवकुमार राईसँग जड़ित जतिपनि कलाकारहरू भए, प्रतिभाहरू भए सबैले नै शिवकुमार राईबाट धेरै प्रेरणा पाएका छन्। मेरो आफ्नो व्यक्तिगत जीवनमा पनि मैले प्रत्यक्ष/अप्रत्यक्ष धेरै प्रेरणा प्राप्त गरेको छु। लोकगायक मानसिंह मोक्तानज्यूले ‘कला दर्पण’-अन्तर्गत आफ्नो लोक गायनको निम्ति शिवकुमार राईले कसरी प्रोत्साहित गरे भन्ने कुरो एकदम स्प़ष्टसित जाहेर गर्नुभएको छ। यसबाट बुझ्छौं मानसिंह मोक्तानजस्ता लोकगायकलाई पनि आकाशवाणीमा प्रोेत्साहित गरेका रहेछन् शिवकुमार राईले। यस्ता त अरू कति छन् छन्। शिवकुमार राईले साहित्यका, सङ्गीतका, नाटकका अनि अन्यान्य विधाका कलाकारहरू र नव प्रतिभाहरूलाई प्रोत्साहित गरेका छन्। उनले मलाई म विद्यार्थी हुँदादेखि नै प्रोत्साहित गरेका हुन्। उनको एउटा कविता ‘लामाको देश’ हामीले पढ़नुपर्थ्यो सातौं श्रेणीमा हुँदा साहित्य भारती पाठ्य पुस्तकमा- ‘पहाड़माथि लेङ्गछिंग गुम्बा मानेको लहर, असंख्य धजा फरफर गर्थे छोएर सगर…।’ मलाई त्यसको झायाउरे लयले समातेको थियो। पछि बुझें यो ‘डाँफे चरी’ शिवकुमार राईको खण्डकाव्यबाट उद्धृत गरिएको सानो अंशलाई सम्पादक पारसमणि प्रधानले ‘लामाको देश’ भनेर त्यसमा सङ्कलित गरेका रहेछन्। यसरी नै आठौं श्रेणीमा पुग्दा मैले ‘सय रूपियाँको नोट’ भन्ने कथा पढ़ें शिवकुमार राईको। रूपलालको जीवनमा एक सय रूपियाँको नोटले गर्दा पाएका दु:खहरूले मलाई एकदमै छोयो। आफूले नजानीकनै त्यसलाई नबुझीकनै मैले त्यसलाई नाटकीकरण गरेको रहेछु त्यसैबेला विद्यार्थीहुँदा। पछि उहाँसँग साक्षात भेट भयो जब उहाँ युवावाणी कार्यक्रम रेकर्डिङ गर्नुको लागि दार्जीलिङमा आउनुभएको थियो। सन्त रोवर्टस स्कूलको प्रतिनिघित्व गर्दै मैले एउटा निबन्ध रेकर्ड गरेको थिएँ ‘समाज र युवक’। त्यो निबन्ध पठन गरिसकेपछि दौरा सुरुवाल लगाएका ढाका टोपी पहिरिएका उनले मलाई धाप मारेर ‘राम्रो निबन्ध लेखेका रहेछौ यसरी लेख्दै गर्नु अनि आकाशवाणीमा आउनु’ भने। त्यतिबेला राम्रोसँग चिनेको पनि थिइनँ, बुझ्दाखेरि शिवकुमार राई रहेछन्। पछिबाट आकाशवाणीमा कतिवटा कार्यक्रममा कन्ट्र्याक्ट पाएर पुग्दाखेरि उहाँले मलाई जहिले पनि ‘आकाशवाणीमा आउनु, तिम्रो स्वर राम्रो छ, रेडियोको लागि एकदम फीट छ भोइस!’ भन्नुहुन्थ्यो। सौभाग्यवश पछि मैले आकाशवाणीमा मौका पाएँ। त्यहाँ गएपछि उहाँसँगै  रहेर धेरै कार्यक्रमहरू गर्ने मौका पनि पाएँ। मेरो कार्य त त्यहाँको उद्घोषणा गर्नुमात्रै थियो तर उहाँले थुप्रै कामहरू दिनुहुन्थ्यो र ती दिइएका कामहरू एकदम निष्ठापूर्वक पूरा गर्थें, जस्तो इन्द्रेणी कार्यक्रम, गाराँसगुच्छ कार्यक्रम सञ्चालन इत्यादि। यी सब गर्नको निम्ति मलाई प्रोत्साहित गर्ने, प्रेरित गर्ने व्यक्ति शिवकुमार राईलाई म कहिल्यै पनि बिर्सन सक्तिनँ। आकाशवाणीमा मैले जुन फूटबलको रनिङ कमेन्ट्री गर्ने मौका पाएँ त्यो पनि हाम्रा शिवकुमार राईकै प्रेरणाद्वारा मैले प्राप्त गरेको हुँ। शिवकुमार राई, म स्वयं, मेरा मित्र एल.पी. योल्मो, सुरेन्द्र पोद्दार इन्द्र प्रधान सिलगड़ीमा एउटा फुटबल क्वार्टर फाइनलको खेलमा कमेन्ट्री गर्दागर्दै मचानबाट एकैसाथ झरेर घाइते पनि भएका हौं। शिवकुमार राईलाई नयाँ पुस्ताका निम्ति एकजना अत्यन्त प्रेरक यक्तित्व को रूपमा म पाउँछु। शिवकुमार राईले यसरी प्रोत्साहित गर्नको निम्ति, अरूलाई उठाउनको निम्ति जे जति काम गरेे त्यसको पनि एउटा मुख्य कारण हो उनी स्वयं एक कलाकार हुन्। किनभने एउटा कलाकारले नै अर्को कलाकारलाई त्यो प्रतिभालाई राम्रो चिनेको हुँदछ। एउटा सिद्ध कलाकारले अर्को उम्दा कलाकारलाई चिन्नुमा शिवकुमार राईजस्ता कलाकारले गल्ती गरेका छैनन्, भूल पनि गरेका छैनन् अनि अबेर पनि गरेका छैनन्। शिवकुमार राईले विशेष रूपक, सङ्गीतमय रूपक र नाटकमा जुन योगदान नयाँ आउने पिँढीलाई जुन प्रकारले आफूसित लिएर उनीहरूलाई पनि प्रोत्साहित गर्दै काम गरे रेडियोमा त्यसको अर्कै एउटा अध्याय छ। नाटकहरूमा उनको प्रसिद्ध ‘आजको रिपभ्यानविङ्कल’ भारतबाट प्रसारित श्रेष्ठ नाटकको रूपमा पुरस्कृत पनि भएको हो। आकाशवाणी खरसाङ र गान्तोकबाट फूलपातीको प्रात:मा बज्ने शिवकुमार राईको रूपक ‘महामाया चण्डिके’-ले हाम्रो धार्मिक र सांस्कृतिक जुन एउटा विश्‍वास छ त्यसलाई अझै पनि अमेट राखेको छ, स्थायी राखेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement