सिलगढी: सिलगढी महानगरीय प्रहरीको महिला थानाले अनलाइन मार्फत वेश्यावृत्तिको योजना विफल पार्दै घटनामा प्रधान नगर क्षेत्रकी एक महिलासहित तीनजनालाई पक्राउ गरेको छ। एसीपी सुभेन्द्र कुमारले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। उनले लामो समयदेखि एक समूहले महिलाको तस्बिर अनलाइनमार्फत मोबाइलमा पठाउने व्यापार गरिरहेको बताए। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा अनुसन्धानपछि गएराति प्रधाननगर इलाकाबाट चन्दना साह नामक महिलालाई पक्राउ गरिएको हो। उनीसँग सोधपुछ गरियो र उनको सूचनामा सम्राट सरकार र मिजानुर इस्लाम नामका दुईजनालाई पक्राउ गरिएको थियो। तीनैजनाको साथबाट तीन थान मोवाइल, एक मोटरसाइकल र स्कुटी बरामद गरिएको छ। घटनामा अखिलेश कुमार नामका अर्का व्यक्ति पनि अगाडि आएका छन्। उनी भागेका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। पक्राउ परेकाहरूलाई शुक्रबार सिलगढी अदालतमा १० दिनको पुलिस हिरासतको लागि निवेदन पठाइएको थियो। घटनामा अन्य कोही संलग्न छन् वा छैनन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।