पाकिम: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पाकिम जिल्लाअन्तर्गत असम लिङ्जेमा निर्माण गरिने लिम्बू भवन अर्थात् माङघिमको शिलान्यास गरे। यस अवधि उनीसँग राज्यका संस्कृति, सड़क तथा पूल विभागीय मन्त्री सामडुप लेप्चा, जनस्वास्थ्य अभियान्त्रिकी विभागीय मन्त्री भीमहाङ लिम्बू, विद्युत तथा श्रम विभागीय मन्त्री एम.एन. शेर्पा, क्षेत्र विधायक एम प्रसाद शर्माको उपस्थिति रहेको थियो।
शिलान्यास कार्यक्रमको शुरुआतमा मुख्यमन्त्री तामाङले लिम्बू सम्मान संस्कार फ्याङ्ताङमाको अनुष्ठानमा सहभागिता जनाए। उनले माङघिमको मागबारे थप जानकारी लिए। यस विशिष्ट निर्माण कार्यको निम्ति मुख्यमन्त्री तामाङले आफ्नो पक्षबाट सकरात्मक विचार पोख्दै भवन निर्माणको जिम्मेवारी सरकारको रहेको बताए। समुदायको हितको निम्ति भवन निर्माणपछि भने यसको संरक्षण गर्ने जिम्मेवारी समुदायको रहेको बताए।
जानकारी गराइन्छ, राज्य सरकारको संस्कृति विभागअन्तर्गत स्वीकृत ४ करोड़ ३२ लाख रुपियाँ अनुमानित राशिद्वारा आज शिलान्यास गरिएको लिम्बू भवन एवं माङघिम चारतल्ले निर्माण गरिनेछ। दुई वर्षको समयावधिभित्र यो निर्माण कार्य पूरा गरिने असम लिङ्जे सिरीजङ्गा यामासुम माङघिम प्रबन्धन समितिका अध्यक्ष एच.बी. सुब्बाले जानकारी गराएका छन्। आवश्यक परेको समयमा वरिपरिका सबै समुदायको सेवा गर्नु भवन निर्माणको एकमात्र उद्देश्य रहेको उनले थप जानकारी गराएका छन्। यो भवन लिम्बू समुदायको निम्ति मात्र नभएर क्षेत्रका सबै समुदायको निम्ति खुला रहने अध्यक्ष सुब्बाले अवगत गराए।
आजको कार्यक्रममा आबकारी विभागका अध्यक्ष गाञ्जा भोटिया, अध्यक्ष विद्या सुब्बा, सल्लाहकार डुबो छिरिङ भोटिया, कृषि एवं बागवाणी विभागका ओएसडी, पाकिमका जिल्लापाल, टाशी छोपेल लेप्चा, लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।