गान्तोक: सिक्किम राज्यका रिफर्म कलले पाँच जिल्लाको भ्रमण पूरा गरिसकेको छ।अब क्रिसमश र लोसुङ- नामसुङपछि मंगन जिल्लाको भ्रमण गर्ने भएको छ। २१ नोभेम्बरदेखि शुरू गरिएको सिक्किम सुधार यात्रा’ को हिजो २८औं दिनसम्म रिफर्म कलले गान्तोकसहित पाकिम, नाम्ची, गेजिङ र सोरेङ जिल्लाको भ्रमण पूरा गरिसकेको छ। रिफर्म कलका प्रवक्ता महेश राईले आगामी क्रिसमश र लोसुङ- नामसुङपछि अन्तिम चरणमा मंगन जिल्लाको भ्रमण शुरू गर्ने जानकारी आज प्रेसवार्तामा गराए। उनले राज्यका पाँच जिल्लामा गरिएको भ्रमण अवधि प्राप्त अनुभवहरू पनि साझा गरे। उनले यात्रा अवधि सर्यो गाउँ भ्रमण गरेको र हजारौं मानिसहरूसँग अन्तरक्रिया गरिएको बताए। यस अवधि सिक्किमका जनताले एउटा बलियो विकल्प खोजिरहेको कुरा थाहा लागेको उनले बताए। यसै गरी, अहिलेसम्मको राजनीतिले राज्यका सबै वर्गहरूको उत्थान गर्न नसकेको पनि थाहा पाएको प्रवक्ताले बताए। उनले भने, ‘जुन दिन हामी पार्टी घोषणा गर्ने छौ, हामी जनताका समस्याहरूको समाधान पनि लिएर आउने छौ।’ उनले राज्यमा शिक्षित बेरोजगारहरूको संख्या निकै बढ़ेर गएको छ र शिक्षित युवाहरूले अवसर नपाउनु भनेको राज्यको निम्ति ठूलो क्षति रहेको बताए। उनले राज्यका सड़क मार्गहरूको स्थिति एकदमै सोचनीय रहेको तथा गाउँ- घरमा सरकार बुनियादी सुविधा प्रदान गर्न विफल बनेको कुरा पनि आफुहरूले यात्रा अवधि थाहा पाएको बताए।
उनले सिक्किमको वर्तमान अवस्थाले राज्यमा आर्थिक संकट आइसकेको स्पष्ट भएको छ भनी बताए। उनले राज्य सरकार उक्त सबै मुद्दाहरूलाई सम्बोधन गर्न चुकेको पनि आरोप लगाए। उनले वर्तमान सरकारको कार्यकालमा केवल जोइनिङ कार्यक्रम मात्र भइरहेको छ भनी बताए। सरकारले आवश्यकताको आधारमा काम गर्नु पर्ने हो तर, सरकारले आफ्नो इच्छा अनुसार काम गरिरहेको आरोप लगाए। उनले भने, जनताले सरकारलाई आफ्नो इच्छा पूरा गर्न होइन, जनताको निम्ति काम गर्न सत्तामा पुऱ्याएको हो।