सिलगढी: लोकसभाको चलिरहेको सत्रमा सांसद राजु बिष्टले विभिन्न विषयहरु बारे विवरण माग गर्दै प्रश्न उठाएका थिएl प्रधानमन्त्री आवास योजना– शहरी (पीएमएवाई-यु)अन्तर्गत २०१९ देखि सबै राज्यहरूका लागि साथै पश्चिम बङ्गालका लागि आवन्टित अनुदान रकम; आवेदन गरिएका, मन्जूर गरिएका तथा कार्यान्वित भएका परियोजनाहरूको विवरण; तथा दार्जीलिङ, कालेबुङ अनि उत्तर दिनाजपुरका जिल्लाहरूमा २०१९ देखि पीएमएवाई-युअन्तर्गत लाभार्थीहरूको विवरण मागेको उनले माग गरेका थिए। यसबारेमा उनले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्l २०१९ देखि अहिलेसम्म केन्द्रीय सरकारले देशभर पीएमएवाई (यु) का लागि रु. ७९६०५.१ करोड़ आवन्टित गरिसकेको आवास एवं शहरी मामिला राज्य मन्त्री कौशल किशोरले बताएको संसाद राजु बिष्टले बताएका छन्। पश्चिम बङ्गाल राज्यका लागि केन्द्रीय सरकारले यसै अवधिमा पीएमएवाई-यु योजनाअन्तर्गत रु.११०९६.३४ करोड़ आवन्टित गरेको सांसद राजु बिष्टले बताएका छन्।
‘तर, म पूर्णतया स्तब्ध भएँ जब मैले देखेँ कि वर्ष २०२१ मा कालेबुङ जिल्लामा प्रधानमन्त्री आवास योजना (शहरी)अन्तर्गत ३ घरमात्रै आवन्टित भए अनि अहिले २०२२-२३ सम्म कालेबुङमा शून्य घरहरू आवन्टित भएका छन्l अझ अचम्मलाग्दो कुरो, दार्जीलिङ जिल्लामा २०१९ देखि १०४०८ घरहरूका लागि अनुदान दिइएका छन्, तर जम्मा ३००६ अथवा लगभग २९ % घरमात्रै पूरा हुन सकेका छन्। कालेबुङ जिल्लामा अनुदानप्राप्त २२७७ घरहरू मध्ये जम्मा ३०२ घरहरू अथवा १३% मात्रै पूरा हुनसकेका छन्। उत्तर दिनाजपुरका आँकड़ा त झनै दयनीय छ, अनुदानप्राप्त १३८७० घरहरू मध्ये जम्मा ३०७ अथवा २.२% घरहरू मात्रै अहिलेसम्म पूरा भएका छन्’, उनले विज्ञप्तिमा यसरी बताएका छन्। उनले अझ यसो भनेका छन्, ‘यसको विपरित, दक्षिण बङ्गालमा पीएमएवाई-यु आवास परियोजनाहरूको सम्पन्नता दर उच्च छ। कोलकातामा घरहरूको सम्पन्नता दर ८१.८८% छ भने हावड़ामा सम्पन्नता दर ५०.०४% रहेको छ। पीएमएवाई माग निर्देशित योजना भएको हुँदा, जिल्लाहरू वा राज्यहरूबाट कम्ती मागको परिणामस्वरूप केन्द्रीय सरकारबाट यसका लागि आवन्टन कोष पनि कम्ती हुनजान्छl’