दिल्लीमा सेमिनार होइन, गोर्खाल्याण्डको डायलगलाई अघि बढाउनु पर्ने थियो: अनित थापा
खरसाङ: गोर्खा जनमुक्ति मोर्चाका शंकर लामा अनि गोर्खा राष्ट्रिय मोर्चाका कल्याण बागदासको नेतृत्वमा आज खरसाङ महकुमा अन्तर्गत तराईको सिमलबारीमा आयोजित एक कार्यक्रममा ४०० परिवारहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा ग्रहण गरी पार्टीमा सामेल भएका छ्न्। पार्टी अध्यक्ष अनित थापाले उनीहरूलाई पार्टीमा स्वागत जनाएका छन्। सामेल कार्यक्रमपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिँदै अनित थापाले भने, “पहाडमा यो समय मानिसहरू बीजीपीएम पार्टीमा जोडिनु थालेका छन्। विजय पश्चात मानिसलाई भिक्टीमाइज गर्ने प्रथालाई हामीले तोडी दियौं। हामी पहाडको समग्रलाई एक साथ लिएर अघि बढ्नु चाहन्छौ। त्यसैले आज सिमलबारीमा ४०० मानिसहरू हामीसंग जोडिएका छन्। यहाँको कल्याण भाइ जो विगत चुनावको एक उम्मेदवार पनि थिए। उनले १३०० भोट पाएका थिए। आज उनी र उनको टिम हामीसँग जोडिएका छन्। सिमलबारीमा अब बीजीपीएम मात्र रह्यो। अरु पार्टी छैन भन्दा पनि हुन्छ।”

पहाडमाथि बीजीपीएमको परिकल्पना कस्तो रहेको छ भनी प्रश्न गर्दा उनले भने, “समस्या पहाडभरि नै छ। हामी पञ्चायती व्यवस्थादेखि विमुख थियौं। सरकारसंग बात गरेर पञ्चायत चुनाव पनि गराउन सफल भएका छौं। चाँडै नै पञ्चायत चुनाव हुनेछ। पहाड़ अव्यवस्थित छ। विस्तारै हामी व्यवस्थित पहाड बनाउने छौं। सिमलबारीमा हामीले पानीको ठूलो योजना ल्याएका छौं।” गोर्खाल्याण्ड सेमिनारमाथि गरिएको प्रश्नको जवाबमा उनले भने, “सेमिनार गरेर गोर्खाल्याण्ड हुन्छ कि हुँदैन मलाई थाहा भएन। वास्तवमा गोर्खाल्याण्डको डायलगलाई अघि बढाउनु पर्ने थियो।
म आन्दोलनमा विश्वास राख्दिन। हामी आन्दोलनको पछि भाग्ने छैनौं। डायलगबाट मात्र समस्याको समाधान हुनेछ, आन्दोलन गरेर नोक्सान मात्र भयो। राजनैतिक व्यक्तिले सुरु गर्ने नेताले राजनैतिक फाइदा मात्र हेर्छ। गैर राजनैतिक व्यक्तिको नेतृत्वमा चल्ने गोर्खाल्याण्डको डायलगलाई मेरो समर्थन छ।”