खरसाङ: खरसाङ महकुमा अन्तर्गत गाडीधुरास्थित राइजिङ्ग स्टार इंग्लिस स्कूलद्वारा वार्षिक समारोह एंव अभिभावक दिवस पालन गरेको छ। स्कूल सञ्चालन समितिको सभापति आरएल रामुदामुको अध्यक्षतामा समपन्न कार्यक्रमका प्रमुख अतिथिकस़ रूपमा जीटीएके कार्यकारी सभासद कल्पना प्रधान थिए भने अतिथिहरुमा कार्यकारी सभासद अनोस थापा, मनोनित सभासद प्रणाम रसाइली, जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधान, समाजसेवी अनु प्रधान, पेमेन्द्र गुरुङ, दुधे प्राथमिक विद्यालयका सह शिक्षक ललित प्रधान, कवीर लामा आदि थिए। विद्यालयका भूतपूर्व विद्यार्थी अनुश्री रामुदामुद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्कूलका प्रधानध्यापिका लक्की छेत्री रामुदामुद्वारा स्वागत सम्बोधन राखिएको थियो। संजिला थापा राईद्वारा निर्देशित नेपाली नृत्यबाट शुरू भएको रंगारंग कार्यक्रममा संगीता छेत्रीद्वारा निर्देशित कक्षा एलकेजी अनि युकेजीका मसिना नानीहरुको नृत्यले उपस्थित सम्पूर्ण अतिथि साथै अभिभावकहरुलाई मंत्रमुग्ध बनाएको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विद्यालयका प्रधानाध्यापक अनुप रामुदामुले विद्यालयबारे बताउँदै धेरै अभावहरुबीच स्कूल संचालन गर्नु धेरै गाह्रो भए पनि गुणस्तरीय शिक्षामा भने तत्पर रहेको र आजसम्म धेरै नानीहरु अव्वल बनाउन अहम भूमिका निर्वाह गरेको बताए। विद्यालयबारे बोल्ने क्रममा भावुक भएका रामुदामुले यस विद्यालयले विपन्न परिवारका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा प्रदान गरिरहेको बताए।कार्यक्रममा ईशा थापा लामाद्वारा प्रशिक्षित सामुहिक अंग्रेजी गीत प्रस्तुत गरिएको थियो भने भूतपूर्व सैनिक जीवन थापाद्वारा प्रशिक्षित विद्यार्थी नानीहरुद्वरा खुकुरी नृत्यले सबैको मन जित्न सफल बनेको थियो। विद्यालयले आफ्नो दशौं स्थापना सालदेखि शुरु गरेको एक विशेष कार्यक्रम सम्बर्द्धनालाई गर्ने क्रममा विभिन्न विधाबाट चारजनालाई सम्बर्द्धना जनाइयो जसमा शिक्षा क्षेत्रबाट पंखाबारी उच्चतर माध्यामिक विद्यालयकी सह शिक्षिका सारदा मुखियालाई शिक्षाको क्षेत्रमा, सुदर्शन प्रधान अम्बटेलाई नेपाली साहित्यको क्षेत्रमा, अनिल राई आम्बोलाई नेपाली हाँस्य कलाकरको क्षेत्रमा अनि किरण बराइकलाई बिज्ञान अनि प्रविधिमा सम्बर्द्धना जनाइएको थियो।

यसै गरी यस विद्यालयबाट प्राथमिक शिक्षा शुरु गरी दशौं श्रेणी उत्तीर्ण गरेका भूतपूर्व विद्यार्थीहरुलाई स्मृति चिन्ह प्रदान गरिएको थियो। भूतपूर्व विद्यार्थीको पक्षबाट विद्यालयबारे आफ्नो पक्ष अन्नया गुप्ताले राखेका थिए। भूर्तपूर्व विद्यार्थीहरुले स्कूल पक्षबाट स्मृति चिन्ह प्राप्त गर्ने क्रममा सम्पूर्ण विद्यार्थीहरू भावुक बनेका थिए। आफुले प्राथमिक शिक्षा आर्जन गरेको विद्यालय यसरी माया दिएकोमा भावुक बनी सबै भूतपूर्व विद्यार्थीहरुको आँखा रसाएको थियो। भूतपूर्व विद्यार्थीहरुको पक्षबाट अनन्या गुप्ताले आफु यस स्कूलमा पढ्दाको कुरा साझा गरे।

कार्यक्रमलाई कार्यकारी सभासद कल्पना प्रधानले सम्बोधन राख्ने क्रममा विद्यालयले धेरै राम्रो शिक्षा दिइरहेको बताए साथै विद्यालयका संचालकको प्रसंशा गरे। भविष्यमा स्कूललाई सक्दो सहयोग पुराउने वचन दिइन्।
आजको कार्यक्रममा वार्षिक परीक्षा फलको घोषणा पनि गरियो जसमा प्रथम, दोस्रो र तृतीय हुने विद्यार्थीहरूलाई पुरुस्कार वितरण गरियो साथै सालभरि स्कूलमा गरिएको विभिन्न क्रियाकलापहरुमा सर्वोच्च हुने विद्यार्थीहरुलाई अतिथिहरुको बाहुलीबाट पुरस्कार प्रदान गरियो। द सिद्धान्त मेमोरियल फोन्डेसनद्वारा दिइने तीन हजार रुपियाँको छात्रवृत्ति यस साल सर्वोच्च अंक ल्याउने विद्यार्थी सुवास मेहरलाई प्रदान गरियो। आजको कार्यक्रमलाई सफल बनाउने सम्पूर्ण अभिभावक,शिक्षक साथै सबैलाई स्कूल पक्षबाट संचालक अनुप रामुदामुले धन्यवाद दिएका दिएका छन्।









